आज :

ताजा समाचार

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  पुरुषोत्तम ढकाल    १५ चैत्र २०७६, शनिबार १४:३०      353 Views

काठमाण्डौ: अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको दायरा लगातार बढ्दै गइरहेको छ ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख चार हजार पुगेको छ भने १७ सयभन्दा बढीको ज्यान गइसकेको छ । विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार नाघिसकेको छ ।

भाइरसको सङ्क्रमणलाई लिएर गम्भीर हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कार निर्माता कम्पनी जनरल मोटसलाई भेन्टिलेटर बनाउन आदेश दिएका छन् । ट्रम्पले कोरियाली युद्धको समयको डिफेन्स प्रोटेक्शन एक्ट लगाएका छन् । यो एक्टका अनुसार राष्ट्रपतिले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै कम्पनीलाई त्यही अनुसारको उत्पादन गर्न आदेश दिन्छन् ।

ट्रम्पले भने जनरल मोटरले समय बर्बाद गरिरहेको र अमेरिकी नागरिकको ज्यान बचाउन तत्काल कामकारबाही गर्न आवश्यक रहेका बताए । यसअघि कम्पनी नै भाइरसविरुद्ध सहयोग गर्न अघि आएको भन्दै ट्रम्पले डिफेन्स अर्डरको आवश्यक नभएको बताएका थिए ।

जनरल मोटरले अप्रिलदेखि प्रत्येक महिना १० हजार भेन्टिलेटर बनाउन सक्ने बताएको छ । जनरल मोटर सिएटलमा रहेको मेडिकल डिभाइस म्यानुफ्याक्चररसँग मिलेर काम गरिरहेको छ । कोरोनाको सङ्क्रमण बढेसँगै अमेरिकी अस्पतालमा भेन्टिलेटरको माग बढेको छ ।

पूरै अमेरिकामा न्युयोर्क शहर सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा ३० हजारभन्दा बढी भेन्टिलेटरको माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस