आज :

ताजा समाचार

लकडाउनले कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ त ?

  पुरुषोत्तम ढकाल    ११ चैत्र २०७६, मंगलवार ०७:३७      745 Views

काठमाडौं: कमजोर स्वास्थ्य सुविधा भएको नेपाल कोरोना विरुद्धको लडाइँमा अब थप कडाइका साथ होमिएको छ । सम्भव भएसम्म सुरक्षाका सबै उपाय सरकारले अपनाएको छ । त्यही उपाय अन्तर्गत सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरेर मानिसहरुलाई एक सातासम्म घरबाट बाहिर निस्किनसमेत बन्देज लगाएको छ । अत्यावश्यक सेवाबाहेक सार्वजनिक यातायातदेखि निजी तथा सरकारी कार्यालयहरुसमेत बन्द गरिएको छ । यो भनेको नेपाललाई सरकारले ‘लकडाउन’ गरेको हो ।

लकडाउनको सुरुवात कोरोना भाइरसको उदगमस्थल चीनको वुहान शहरबाट भएको थियो । चीनपछि अहिले अमेरिका, इटली, फ्रान्स, आयरल्याण्ड, ब्रिटेन, डेनमार्क, न्यूजिल्याण्ड, पोल्याण्ड, स्पेन, भारतलगायत विश्वका प्राय सबैजसो देशहरुले कोरोना भाइरसलाई थप फैलिन नदिन यही नीति अवलम्बन गरेका छन् । तर, के लकडाउन गरेर कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ त ?

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक रायन भन्छन्, ‘कोरोना संक्रमण रोक्न लकडाउन मात्र पर्याप्त छैन ।’

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै रायनले भनेका छन्, ‘लकडाउनसँगसँगै सबै देशहरुले कोरोना भाइरसको परीक्षण पनि पटक–पटक गर्नुपर्छ । यदि यसो गरिएन भने लकडाउन सकिएलगत्तै कोरोनाको संक्रमण फेरि तीव्र दरले फैलिन थाल्छ ।’

सबै देशहरुको सामाजिक संरचना अलग–अलग भए पनि मानिसहरुलाई घरबाट बाहिर निस्किन बन्देज लगाएरमात्रै कोरोना भाइरसको संक्रमण रोक्न सकिँदैन ।

यसैगरी भारतको सन्दर्भमा सोधिएको एक प्रश्नमा डब्लूएचओका दक्षिण पूर्वी एशियाका आपतकालीन सेवा निर्देशक डाक्टर रोड्रिगो ओफरिनले पनि लकडाउनबाट संक्रमण फैलिने दरमा केही कमी आए पनि धेरैभन्दा धेरै व्यक्तिहरुको नमूना संकलन गरी स्वास्थ्य परीक्षण पनि गर्नु पर्नेमा जोड दिएका छन् । जति धेरै व्यक्तिको स्वास्थ्य जाँच गर्न सकियो त्यति धेरै सफलता मिल्ने उनको भनाइ थियो ।

नेपालमा भने स्वास्थ्य परीक्षण गर्न चाहिने किट र स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक (पीपीई) नै पर्याप्त छैन । यद्यपि नेपाल सरकारले छिमेकी देशहरुसँग स्वास्थ्य सामाग्री एवम् उपकरणहरु सहयोग मागेको छ ।

यस कुरालाई स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘पहिले काम चलेकै थियो, त्यहीभएर धेरै किन ल्याउनुप¥यो भनेर भण्डारण गरिएन ।’

यद्यपि कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिका प्रमुख पोखरेलले आम नेपाली जनतालाई आश्वस्त पार्ने प्रयास गर्दै भने, ‘हवाईजहाज कार्गो गरेर भए पनि जहाँ पाइन्छ, त्यहाँ गएर उपकरणहरु ल्याउँछौं र हामी जनतालाई मर्न दिँदैनौं ।’


प्रतिक्रिया दिनुहोस