आज :

ताजा समाचार

मुलुक पहिलोपटक हवाई सम्पर्कविहीन

  पुरुषोत्तम ढकाल    ११ चैत्र २०७६, मंगलवार ०७:२६      476 Views

काठमाडौं : आज (मंगलबार) देखि एक साताका लागि आन्तरिक हवाई उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरूप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले सोमबार मात्र विमानबाट आएकी एक युवतीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

प्राधिकरणले विश्वभर महामारीका रूप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिम फैलिएपछि सरकारको निर्देशनअनुसार आन्तरिक हवाई उडान बन्द हुने जनाएको छ । सरकारको यस निर्णयअनुसार अब मंगलबारका लागि बुकिङ भएका आन्तरिक हवाई टिकट रद्द हुनेछन् । जसका लागि सम्बन्धित वायुसेवा कम्पनीलाई निःशुल्क फिर्ता (रिफन्ड) गर्न पनि निर्देशन दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

अहिले सडक यात्रामा भन्दा विमानस्थलमा बढी भीडभाड हुन थालेपछि सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय लिएको हो । यसअघि सरकारले सोमबारदेखि नै लामो दूरीमा चल्ने सवारीसाधन तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गराएको थियो । यसअघि सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपाएस्वरूप आइतबार राति १२ बजेदेखि आगामी १८ चैतसम्म अन्तर्राष्ट्रिय हवाई उडान अवतरणमा प्रतिबन्ध लगाएको थियो ।

सोहीअनुरूप सोमबार नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द भएको थियो भने सरकारसँग उडान स्वीकृति लिएका चार वटा विमान मात्र उताबाट रित्तै आएको थियो । सोमबारका लागि कतार एयरवेज, कोरियन एयर र इत्तेहाद एयरवेजका चार वटा विमानले मात्र विशेष कारण देखाएर स्वीकृति लिएका थिए ।

सरकारको यस्तो निणर्यसँगै अब नेपाल अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको ६ दशकपछि पहिलोपटक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन भएको छ । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरूप आइतबार राति १२ बजेदेखि आगामी १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान अवतरणमा प्रतिबन्ध लगाएसँगै सोमबार बिहानैबाट मुलुक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन जस्तै भएको हो ।
सरकारले मंगलबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय र आन्तरिक उडान अवतरणमा लगाएको प्रतिबन्ध पछि कुनै पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान हुनेछैनन् ।

विमानस्थल कार्यालयले जानकारी गराएअनुसार मुलुकको हवाई उडानको ६१ वर्षे इतिहासमा अहिले मात्र नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सम्पर्कविहीन हुन पुगेको हो । सबैभन्दा पहिले नेपालले २०१५ सालदेखि अन्तर्राष्ट्रिय हवाई उडान सेवा सञ्चालन गरेको थियो । सो समयभन्दा अघि २००६ सालमा तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहको पालामा काठमाडौंको गौचरण (हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा पहिलोपटक भारतबाट डकोडा विमान अवतरण गराइएको थियो ।

त्यसबेलादेखि २०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्प, अन्य घटनाक्रम एवं ठुल्ठूला आन्दोलनका समयमा सरकारले नै औपचारिक रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएर मुलुकलाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन बनाउने अवस्था आएको थिएन । केही वर्षअघि टर्किस एयरलाइन्स धावन मार्गमा चिप्लिएर दुर्घटना भएको विमान उठाउन नसकेका कारण केही समय मात्र मुलुक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन हुन पुगेको थियो । अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट बचाउन सरकारले बाध्य भएर यस्तो निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको सोही निर्णयअनुसार मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अहिले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ भने मंगलबारदेखि आन्तरिक उडान बन्द हुँदै छ ।


प्रतिक्रिया दिनुहोस