आज :

ताजा समाचार

१०० र १०३ मा फोन व्यस्त, प्रहरी भन्छ–‘तपाईहरु घरभित्र बस्नुस् बाहिर हामी सुरक्षा गर्छौं’

  पुरुषोत्तम ढकाल    ११ चैत्र २०७६, मंगलवार ०७:२२      368 Views

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) का कारण यसको रोकथाम गर्न सरकारले देशभर लकडाउन गरेपछि सर्वसाधारणले भने त्यसपछि के हुन्छ भन्ने जानकारी पाउनका लागि चिन्तित रहेको पाइएको छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको हो । पहिलो पटक गरिएको लकडाउमा के गर्न हुने र नहुने भन्ने अन्योलमा रहेका सर्वसाधारणले प्रहरीलाई फोन गर्दै जानकारी लिने गरेका छन् ।

यसका कारण पनि सोधपुछ कक्षका फोनहरु व्यस्त रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमका अनुसार अत्यधिक सोधपुछका कारण १०० र १०३ मा फोन व्यस्त रहेका छन् ।

१०० र १०३ मा सामान्य सोधपुछका लागिसमेत फोन गरिरहेका कारण गम्भीर खाले घटनाबारे सूचना टिपाउन पनि नसक्ने अवस्था रहेको कन्ट्रोल रुमले बताएको छ ।

त्यहाँस्थित प्रहरी नायव निरीक्षक राजु केसीका अनुसार प्रहरीले माइकिङ गरेरै भए पनि लकडाउनको सूचना दिइरहेको छ ।

उनले सवारी साधनहरु फाटफुट चलिरहेको बताए । उनले जवरजस्ती सवारी चलाएका घटना भने नआएको बताए । उनले भने, ‘तपाईहरु घरभित्र बस्नुस् बाहिर हामी सुरक्षा गर्छौं ।’

उनका अनुसार उपत्यकाको शान्ति सुरक्षा अहिले शान्त रहेको छ । २४ घण्टाको अवधिमा कुनै पनि अप्रिय घटनाहरु भएका छैनन् ।

सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि सबैलाई घरभित्रै सुरक्षित रहेर बस्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस