आज :

ताजा समाचार

युएइका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध

  पुरुषोत्तम ढकाल    ९ चैत्र २०७६, आईतवार ०७:५८      483 Views

युएइ: कोरोना भाइरसको फैलावटका कारण चिन्तित रहेका नेपालीहरुलाई युएइस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले संयमित हुन अनुरोध गरेका छन्।
केही अनलाइनहरुमा युएइबाट नेपालीहरुलाई सामुहिक रूपमा नेपाल फर्काइने भन्ने झुटो समाचारको खण्डन गर्दै नेपाली दूतावास अबुधाबीले २१ मार्च शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै युएइमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रूपमा कम देखिएको बताइएको छ।

राजदूत ढकालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेको प्रष्ट पारेका छन्।
अहिलेसम्म युएइमा कोरोनाबाट संक्रमितहरुको उपचार पनि उच्चस्तरीय, गुणस्तरीय र प्रभावकारी रूपमा भइरहेको बताउँदै राजदूत ढकालले युएइमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न र नआत्तिन अनुरोध गरेका छन्।
युएइ सरकार र नेपाल सरकारले जारी गरेका सूचनाहरूअनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडबाट सकेसम्म टाढै बस्न र स्वस्थ आहारविहारमा जोड दिन दूतावासले सूचना जारी गरेको स्मरण गराउदै राजदूत ढकालले युएइ सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उच्च सतर्कता र कुशलतापूर्वक काम गरिरहेको दाबी गरेका छन्।
वैदेशिक रोजगारीको क्रममा युएइमा रहेका सबै नेपालीहरुलाई जहाँ भए पनि उच्च मनोबलका साथ रहन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्न पनि राजदूत ढकालले अनुरोध गरेका छन्।
युएइ सरकारले आफ्नो देशमा रहेका सबै देशका नागरिकहरुलाई आफनै नागरिक सरह सेवा र सुविधा उपलब्ध गराइरहेको र युएइको सम्बन्धित सरकारी निकायसँग नेपाली दूतावासको निरन्तर सम्पर्क र सहकार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
युएइको नेपाली जनजीवन सामान्य
कोरोना भाइरसको फैलावट अन्य देशको तुलनामा कम पाइएको युएइमा वैदेशिक रोजगारीको सिलसिला यहाँ रहेका नेपालीहरु सामान्य दैनिकी बिताइरहेका छन्। केही कम्पनीहरुले अल्पकालीन बिदा दिए पनि धेरै कम्पनीमा कार्यरत नेपालीहरु यथावत रूपमा काम गरिरहेका छन्।
बढी भिडभाड हुने केही सपिङ सेन्टर निश्चित समयको लागि खुला रहन्छन् यद्यपि धेरै मार्केटहरु, सार्वजनिक यातायात, रेल, अस्पताल सुचारु छन् भने केही सार्वजनिक पार्कहरु बन्द गरिएका छन्।
खाद्यान्न अभाव छैन भने बिजुली, पानी, ग्यास, औषधीको पर्याप्तता छ ।
शान्त र सौम्य बर दुबइ
सधैं शुक्रबार भरिभराउ हुने नेपालीहरुको भेटघाट केन्द्र मानिएको बरदुबइ भने गत २० तारिख खुल्ला, शान्त र सौम्य देखियो। नेपालीहरु आफै सचेत भएर बढी भिडभाडमा जान नियन्त्रण गरेर असल नागरिकको परिचय दिएको प्रष्ट देखियो।
फाट्टफुट्ट सार्वजनिक स्थानमा भेटिएका नेपालीहरुले पनि मास्क लाएका र हात मिलाउने, अंकमाल गर्ने प्रचलनलाई त्यागेर नमस्कार गरिरहेका देखिन्थे  सधैं कोलाहल र भिडभाड हुने बरदुबइ खुल्ला र शान्त देखिँदा एक प्रकारको अनौठो अनुभूति भएको पत्रकार खिमलाल पाण्डेले बताएका छन्।
असर नेपाली व्यावसायीहरुलाई
सानो लगानीमा युएइमा व्यापार गरिरहेका नेपालीहरुलाई कोरोनाले टाउको दुखाएको छ । रेस्टुरेन्ट र ट्राभल व्यावसायीहरु चिन्तित छन्।
अन्य व्यावसायमा पनि असर त परेको छ तर कोरोनाको कारण मानिसहरु बाहिर हिंड्न् कम गरेका कारण रेस्टुरेन्ट र हवाईसेवा कम हुँदै जादा ट्राभल व्यावसाय ठप्प छ।
महँगाे घरभाडा र स्टाफको तलब कसरी व्यवस्थापन गर्ने भन्ने नै सानो लगानीमा चलेका नेपाली व्यावसायीलाई मुख्य समस्या छ। फ्लाइटहरु क्यान्सिल भएका कारण ट्राभलहरु दोहोरो मारमा परेका छन्।
सम्बन्धित एयरलाइन्सले पैसा फिर्ता गर्नु त परै जाओस, फोनको रेस्पोन्स नगरेको नेपाली ट्राभल व्यावसायीहरुको छ। शुभयात्रा ट्राभलकी मोती राईका अनुसार नेपाल एयरलाइन्सले समेत क्यानसिल भएका फ्लाइटको टिकटको फिर्ता गर्न आनाकानी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस