भक्तपुर : विभिन्न देशबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइनमा राखिएकाे छ ।
विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो ।
थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ । क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका चालक तयारी अवस्थामा राखिएका छन् ।
स्वाब भने आइतबार सङ्कलन गरिने भएकाे छ । विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कर्टिङ्ग गर्दै पौने ६ बजे क्वारेण्टाइनमा पुर्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
उनीहरुलाई कम्तीमा १४ दिन क्वारेण्टाइनमा राखिनेछ । सङ्क्रमण पोजेटिभ देखिए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ । आफ्नै ईच्छाले नेपाल फर्किएका उनीहरु क्वारेण्टाइनमा रहँदाको खर्च आफैँले बेहोर्नुपर्नेछ ।
प्राधिकरणको क्यान्टिनमा खाना बनाएर प्याकिङ्ग गरी उनीहरुलाई खाना पठाइएको र क्वारेण्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै व्यवस्थापन गरिएको छ । क्वारेण्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले सुरक्षा दिएको छ ।