आज :

ताजा समाचार

आजदेखि चिडियाखाना बन्द

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार ०७:२८      326 Views

काठमाण्डाै: विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीकाे सङ्क्रमण रोक्ने तयारी अनुसार ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएकाे छ । आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो, ‘कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।’ विद्यालयमा वार्षिक परीक्षा सकिएकाे र विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उहाँले बताउनुभयो ।

अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । हरेक दिन चिडियाखाना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो । अहिले चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका दुई सय विद्यालएका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् ।

अहिले चिडियाखानामा एक सय १९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीको लागि ७५० रुपैयाँ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकका लागि ५०० रुपैयाँ, नेपालीलाई १५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

उद्धार केन्द्र अभाव   

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जङ्गली जनावरले समय समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तिनलाई लामो समय स्वास्थ्यपरीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ ।

‘प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई ६ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ’, प्रमुख व्यवस्थापक पोखरेलले भन्नुभयो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुको सङ्ख्या बढिरहेकाले स्थान अभाव छ ।

त्यस्तै मनकामना मन्दिर दर्शन गर्न जाने  दर्शनार्थीहरुको सहजताका लागि  सञ्चालनमा ल्याइएकाे मनकामना  केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको  छ ।

कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालीले बिहीबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ४ मा प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी  मनकामना मन्दिर पुग्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस