काठमाडाैं : भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन् ।
७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बेडको एचडीयू सेवा पनि सञ्चालन हुन्छ, त्यसको काम जारी छ,’ उनले भनिन्, ‘जनरल वार्ड सञ्चालनमा आएलगत्तै विशिष्ट उपचार कक्ष पनि तयार हुनेछ ।’
आईसीयू, एचडीयू र जनरल वार्डका लागि चाहिने औजार उपकरण यहीँका अस्पतालबाट झिकाइएको महानगरले जनाएको छ । ‘भवन हामीसँग तयारै थियो । बेड र अन्य औजार उपकरण सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज, क्यान्सर अस्पतालबाट जुटाएका हौं,’ दाहालले भनिन् । उनका अनुसार अस्पताल सञ्चालनको जिम्मेवारी महानगरले लिनेछ भने संघीय सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको समन्वयमा खर्च व्यवस्थापन हुनेछ ।
चिकित्सक डा. भोजराज अधिकारीको संयोजकत्वमा कोरोना विशेष अस्थायी अस्पताल व्यवस्थापन समिति बनेको छ । ‘भएको जनशक्ति र औजार उपकरणलाई केन्द्रीकृत गरी एकै ठाउँबाट विशेष उपचार सेवा दिन यस्तो अस्पताल उपयुक्त हुने देखेर काम गरेका हौं,’ डा. अधिकारीले भने । यो अस्पताल आमसर्वसाधारणको ओहोरदोहोर र जमघट हुने ठाउँमा नभएको उनले बताए ।
अस्पतालमा तत्काल १४ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । सरकारले तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने बताए पनि उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई महानगरले शतप्रतिशत नै भत्ता दिने दाहालले घोषणा गरिन् । महानगरले मंगलबार ७२ घण्टाभित्र अस्थायी अस्पताल बनाउने निर्णय लिएको थियो ।
उता, भरतपुर अस्पतालले १९ शय्याको आइसोलेसन वार्ड तयार पारेको छ । सरकारीबाहेक जिल्लामा रहेका दुई शिक्षण अस्पताल र निजी अस्पतालले यो स्तरमा आइसोलेसन वार्ड बनाएका छैनन् । जिल्ला प्रशासनले शिक्षण अस्पताललाई २०/२० वटासमेत गरेर जिल्लाभरमा ७५ आइसोलेसन वार्ड बनाउन भनेको छ ।