काभ्रे : टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि आक्रोशित भिडलाई नियन्त्रण गर्न पनौतीमा अनिश्चितकालीन कर्फ्यु लागेको छ ।
बिहान नौ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सोमबार पनौती नगरपालिका–५ मानेश्वरी बसपार्कमा टिपरको ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युपछि मृतकका आफन्तले प्रदर्शन गरी ढुगांमुढा गरेका थिए । सो क्रममा प्रहरीले २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेकोे थियो भने प्रदर्शनकारीबाट गोली चलेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोलीको छर्रा लागेर केही प्रदर्शनकारी समेत घाइते भएको प्रहरीले जनाएको छ । पदर्शनकारीले राति अबेरसम्म प्रदर्शन गरेका थिए ।
उनीहरुले आज बिहान सबेरै बाट पुन प्रदर्शन गरेपछि प्रशासनले बाध्य भएर कर्फ्यु लगाउन परेको जनाएको छ ।
हिजो प्रदर्शनकारीबाटै गोली चलेको र आजपनि अप्रिय घटना हुन नदिन प्रशासनले कर्फ्यु जारी गरेको बताइएको छ ।टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।