आज :

ताजा समाचार

प्रधानमन्त्रीले कार्यवाहकको जिम्मेवारी नदिँदा सरकारका काम प्रभावित

  पुरुषोत्तम ढकाल    २९ फाल्गुन २०७६, बिहीबार ०७:३१      561 Views

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका क्रममा एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छन् ।
यस अवधिका लागि उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी कसैलाई नतोक्दा मन्त्रिपरिषद् बैठक बस्न सकेन भने कतिपय महत्वपूर्ण सरकारी निर्णयहरु हुन सकेन ।
हरेक सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ । कतिपय महत्वपूर्ण निर्णयहरु भएका बेला अन्य दिन पनि मन्त्रिपरिषद्को बैठक राखिन्छ ।
प्रधानमन्त्री अस्वस्थ वा बाहिर हुँदा कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्छन् । तर यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीले अनौठो अभ्यास थाल्नु भएको छ ।
उनले एक हप्तादेखि अस्पताल रहँदा समेत कसैलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनु भएन । मुलुकको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा प्रधानमन्त्रीमा रहन्छ ।
कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णयहरु लिन्छ । सरकारी नीति, निर्णय तथा प्रचलित कानून बमोजिम कार्यसञ्चालनको निरिक्षण गर्ने दायित्व प्रधानमन्त्रीमै रहन्छ ।
प्रधानमन्त्री सक्रिय हुने अवस्था नभएको जुनसुकै बेला कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बस्नु पर्ने हुन्छ ।
प्रधानमन्त्रीले त्यो अवस्था सिर्जना नगरेर नैतिक दायित्व पूरा नगरेको ठान्नुहुन्छ पूर्व मुख्य सचिव डा. विमल कोइराला ।
भलै बिरामी अवस्थामा कार्यवाहक प्रधानमन्त्री तोक्ने कानूनको अभावको लाभ प्रधानमन्त्री ओलीले यस पटक लिएको ठान्छन् ।
कानूनको अभावमा प्रधानमन्त्रीले कसैलाई कार्यवाहक नतोक्नुलाई मुलुक संचालनको दृष्टिले उचित मानिदैन । प्रधानमन्त्री ओली स्वयम्ले कार्यकारी अधिकार प्रयोग गर्न नसक्ने अवस्थामा नैतिकताको आधारमा त्यो अधिकार उपप्रधानमन्त्रीलाई दिएको भए प्रश्नहरु उठने थिएनन् ।
उत्तरदायित्व र पारदर्शीताको सम्मान गरेको ठहर्ने थियो । तर प्रधानमन्त्री ओलीले आफ्नै दलका उपप्रधानमन्त्रीलाई समेत कार्यवाहक प्रधानमन्त्री दिन कञ्ज्युसाई गरेर विश्वासको खाडल सिर्जना गरिदिनु भएको छ । यो मुलुक संचालनका दृष्टिले उचित होइन भन्ने मत बढ्दोछ ।
कोरोना भाइरसको त्रास, यसले सिर्जना गरेको कालोबजारी र मूल्य वृद्धि नियन्त्रणजस्ता विषयमा तत्काल निर्णय गरी सबै सरकारी संरचनालाई परिचालित गर्नुपर्ने बेलामा मन्त्रिपरिषद्को बैठक समेत बस्न नसक्नु लोकतान्त्रिक शासक व्यवस्थालाई सुहाउने विषय होइन । प्रधानमन्त्री बिरामी हुँदा देशै बिरामी जस्तो बन्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस