आज :

ताजा समाचार

काेराेना भाइरस : ईटालीमा ३ सय ६६ जनाकाे ज्यान गयाे, ७ हजार भन्दा बढीमा सङ्क्रमण

  पुरुषोत्तम ढकाल    २६ फाल्गुन २०७६, सोमबार ०७:४०      654 Views

काठमाण्डौ: ईटालीमा गएको २४ घण्टामा थप १ सय ३३ जनाको ज्यान गएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६६ पुगेको छ । सङ्क्रमितको संख्या ७ हजार ३७५ पुगेको ईटालीको स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमण हुने र ज्यान जानेको संख्या बढेपछि ईटालीमा थप सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । कोरोनाको सङ्क्रमण उच्च दरमा फैलन थालेपछि ईटाली सरकारले लोम्बार्डीसहित विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

ईटालीका १ करोड ६० लाख मानिसलाई आउँदाे चैत २१ गतेसम्मका लागि क्वारेण्टाइनमा राखिएको बीबीसीले जनाएको छ । यस्तै ईरानमा गएको २४ घण्टामा कोरोनाका कारण ४९ जनाले ज्यान गुमाएका छन् भने ७ सय ४३ जना नयाँ बिरामी भेटिएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण पछिल्लो समयमा चीनमा नियन्त्रण हुँदै गएको भए पनि अरु देशमा फैलने क्रम तीव्र बनेको छ । १ सय ४ देशमा पुगिसकेको कोरोनाबाट झण्डै १ लाख १० हजार मानिस सङ्क्रमित भएका छन् ।

३८ सय ५ जनाको ज्यान गइसकेको छ भने झण्डै ६१ हजार संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस