आज :

ताजा समाचार

कोरोनाले स्कुल बन्द हुँदा विश्वभर २९ करोड बढी बालबालिकाको पढाइ अवरुद्ध

  पुरुषोत्तम ढकाल    २५ फाल्गुन २०७६, आईतवार ०७:४३      750 Views

एजेन्सी: नयाँ कोरोना विश्वव्यापी रुपमा फैलिरहँदा थप संक्रमण रोक्ने प्रयास अन्र्तगत २९ करोड बढी विद्यार्थीहरुको पढाइ अवरुद्ध भएको छ । संयुक्त राष्ट्र संघकाअनुसार गत मंगलबारसम्ममा तीन महादेशका २२ राष्ट्रले भाइरसका कारण स्कुल बन्द गराइसकेका छन् ।

यसबारे ‘युनेस्को’ का डिरेक्टर–जेनेरल अड्रे अजोलेले भनेका छन्, “हामी बालबालिकाहरुको शैक्षिक कार्य निरन्तर रहोस् भन्ने सुनिश्चित गर्न युवा विद्यार्थीहरुसँग सहकार्य गरिरहेका छौँ । वास्तवमा स्वास्थ्य लगायत अन्य कारणले अस्थायी रुपमा स्कुल बन्द हुनु धेरै नयाँ कुरा होइन । तरपनि यो अवस्था लामो समयसम्म जारी रहेमा भने यसले बालबालिकाहरुको शिक्षाको अधिकार जोखिममा पार्नेछ ।”
यसरी १३ राष्ट्रमा अहिले देशव्यापी रुपमै स्कुल बन्द छन् जसमा चीनका २३ करोड ३० लाख विद्यार्थीहरु सबैभन्दा नराम्ररी प्रभावित भएका हुन् ।

त्यसपछिका अन्य मुलुकहरु जापान, इरान, इटली र उत्तर कोरिया रहेका छन् जसले पनि देशव्यापी अध्ययन संस्थाहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

ससाना मुलुक अजरबैजन, लेबनन, अर्मेनिया, बहराइन, कुवेत, मंगोलिया र युएईले पनि विद्यालय बन्दको घोषणा गरिसकेका छन् ।

यता फ्रान्स, जर्मनी, पाकिस्तान, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले चाहिँ संक्रमणको उच्च जोखिममा रहेका विशेष स्थानहरुमा मात्र स्कुल बन्द गरेका छन् ।

बिहीबार भारतको राजधानी दिल्लीमा पनि केही स्कुल बन्द गरिएको न्युयोर्क टाइम्सले खबर गरेको छ ।

यसरी विद्यालय बन्द हुनुले विशेषगरी कमजोर विद्यर्थीहरुलाई धेरै समस्यामा पार्ने गर्दछ जो स्कुल बाहिर पढ्न कमै प्रेरित हुन सक्छन् । त्यस्तै कतिपय मुलुकहरुमा धेरै विद्यार्थी पोषण तत्वका लागि विद्यालयको निःशुल्क खानामा निर्भर हुन्छन् ।

यता काम गर्ने अभिभावकहरु पनि बच्चाहरुको स्कुल बन्द हुनुले समस्यामा पर्छन् । हाल अमेरिकाका केही विद्यालय मात्र बन्द छन् तर सो सङ्ख्या बिस्तारै बढ्दै जाने अनुमान गरिएको छ ।

लस एन्जलसले बुधबार नै स्वास्थ्य आपत्कालको घोषणा गर्दै स्कुल बन्दको तयारी गर्न भनिसकेको छ ।

नेपाल सरकारले पनि केही समय अगाडि सबै विद्यालयलाई चाँडो भन्दा चाँडो अन्तिम परीक्षा सम्पन्न गराइ बिदा सुरु गर्न भनेको थियो ।


प्रतिक्रिया दिनुहोस