काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामना प्रकट गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उहाले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँ-सहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।
हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयौ दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गरेको स्मरण गर्दै सभापति देउवाले उनीहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि महिलाहरुको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास सभापति देउवाले व्यक्त गर्नुभएको छ ।