आज :

ताजा समाचार

नेपालमा कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण, कसैमा पनि संक्रमण नभएको पुष्टि

  पुरुषोत्तम ढकाल    २५ फाल्गुन २०७६, आईतवार ०७:२७      574 Views

काठमाण्डाै: सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ ।
अहिलेसम्म चीनबाट ल्याइएका १ सय ७५ जनासहित कोरोना भाइरससँग लक्षण मिलेका ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि कोरोना भएको नपाइएकाले नआत्तिन तर सचेत भने हुन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभयो ।
गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका र शंका लागेका अरुको पनि नमुना परीक्षण गर्दा बाँकी कसैमा पनि कोरोनाको संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ती व्यक्ति पनि अहिले पुरै निकै भैसकेको मन्त्रालयले जनाएको छ ।
उनमा कोरोना भएको पुष्टि भएयता सरकारले कोरोना प्रभावित देशबाट आएका नागरिक, उनीहरुको सम्पर्कमा पुगेका व्यक्ति र परिवारका सदस्यमा पनि लक्षण देखिए परीक्षण गर्न थालेको छ ।
कोरोनाको जोखिम बढेपछि सरकारले कोरोनाको शंका लागेका व्यक्तिलाई काठमाण्डाैको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा राख्ने गरेको छ ।
अहिलेसम्म आइसोलेसनमा राखिएका २७ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको छ भने अहिले पनि पाँच जनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेशनमा राखिएका व्यक्तिमा मनोवैज्ञानिक त्रास भएपछि अस्पतालले मनोपरामर्शदाता राख्ने तयारी गरेको छ । आइसोलेशनमा राख्नेबित्तिकै उनीहरु कोरोना संक्रमित भएको भनेर नबुझ्न पनि डाक्टरले आग्रह गरेका छन् ।
उनीहरुमा कोरोना भए बाहिर निस्कँदा अरुलाई पनि सर्ने जोखिम भएकाले मात्रै सुरक्षित तरिकाले राखिएको हो । कोरोनाको जोखिम भएपनि नआत्तन तर सतर्क रहन र जोगिने उपाय अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन् ।
भीडभाडमा नजाने, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कने, घर फर्किएपछि कम्तीमा ३० सेकेण्ड साबुनपानीले मिचीमिची हात धुने, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खोक्दा र हाच्छँयू गर्दा नाक र मुख छोप्ने तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस