आज :

ताजा समाचार

मिस वर्ल्ड टोनी एन पुगिन् हेलम्बु

  पुरुषोत्तम ढकाल    २३ फाल्गुन २०७६, शुक्रबार १५:३३      1356 Views

काठमाडौँ : ‘मिस वर्ल्ड-२०१९’ की विजेता टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु पुगेकी छिन् । हेलिकोप्टर चार्टर गरेरे सिन्धुपाल्चोकको घोप्टेघ्याङ ओर्लिएकी टोनी एनलाई स्थानीय लामा समुदायले स्वागत गरेका छन् ।

मिस वर्ल्ड सहितको टोलीले हेलम्बु गाउँपालिकामा बनिरहेको हिमालयन ग्रेट ट्रेल घुमेका छन् ।

हेलम्बुको सुर्सिङ पुगेर टोनी एनले नेपाली खाना ढिँडो र गुन्द्रुक खाइन् । उनको यो भ्रमणले हेलम्बुलाई विश्वले चिन्ने एउटा अवसर पनि भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यल्जेन (शेर्पा) ह्योल्मोले बताए ।

हेलम्बु हिमालयन ग्रेट ट्रेल बनाउन स्थानीय ढुंगाको प्रयोग गरिएको छ । भित्री भागमा मेसिनले काटेका ढुङ्गा प्रयोग गरे पनि बाहिर देखिने भागका ढुंगा छिनोले खोपेर कुँदिएको छ । सिंढीमा स्लेट ढुङ्गा प्रयोग गरिएको छ । भौगोलिक अवस्था नबिगार्ने र बोट बिरुवा नभएको ठाउँमा वृक्षरोपण गर्ने योजना छ ।

बौद्ध धर्मगुरु स्यल्प तेन्जिङ रिम्पोछे, मिस वर्ल्ड अर्गनाइजेशनकी अध्यक्ष जुलिया मोर्ली, २०१८ की मिस नेपाल शृङ्खला खतिवडा, २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ पनि उनीसँगै हेलम्बु पुगेका छन् । टोनी एनले मिस नेपाल वर्ल्ड अनुष्काको परियोजना अवलोकन गरिन् । उनले आफै गलैंचा बुन्ने कोसिस पनि गरिन् । उनको त्यो व्यवहारले स्थानीय निकै खुसी भएको ह्योल्मोले बताए । नेपालको प्राकृतिक सुन्दरताले लोभ्याएको टोनी एनले बताइन्।

हेलम्बुको अवलोकन भ्रमणपछि टोली हेलिकप्टर मार्फत नै मकवानपुर गएकाे छ।


प्रतिक्रिया दिनुहोस