आज :

ताजा समाचार

संसदमा कोरोनाको जोखिम न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

  पुरुषोत्तम ढकाल    २३ फाल्गुन २०७६, शुक्रबार १४:५८      431 Views

काठमाण्डाै: नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ ।
प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले कोरोना संक्रमणबाट बच्न एकीकृत कार्यसञ्चालन गर्न र तत्काल ‘एक्सन प्लान’ बनाइ सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभयो ।
विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको, संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो जाँचको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
सांसद थापाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सांसदहरु सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नुभएको थियो । बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याउनुभयो ।
सांसद नवराज सिलवालले औषधि उत्पादनको अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद खगराज अधिकारीले कोरोना भाइरसविरुद्ध नेपालले लड्न सक्ने क्षमता राख्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताउनुभयो ।
सांसद भीम रावलले देशभित्र प्रवेशका ठाउँमा परीक्षण र नियन्त्रणको गम्भीर व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस