आज :

ताजा समाचार

राष्ट्रिय सभाका १९ सांसदको पदावधि आज सकिँदै

  पुरुषोत्तम ढकाल    २० फाल्गुन २०७६, मंगलवार १०:४६      493 Views

काठमाडौँ : संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका १९ सांसदको पदावधि आज सकिँदैछ । ५९ सदस्सीय राष्ट्रिय सभामा एक तिहाई सांसदको पदावधी २ वर्षमा आज सकिन लागेको हो । गोलाप्रथाबाट निर्धारण गरिएको पदावधि मध्ये २ वर्षे कार्यकाल तानेका नेकपाका ८, नेपाली काग्रेसका ७, राजपाका २, समाजवादिका १ र राष्ट्रपतिबाट मनोनित एक जनाको पदावधि आज सकिएको हो ।
२ बर्षे कार्यकाल सकिने सांसदहरुमा नेकपाका कमला कुमारी वली, कालि बहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरीचरण सिवाकोटी रहेका छन् । त्यस्तै कांग्रेसका दुर्गा प्रसाद उपाध्यय, धनकुमारी खतिवडा, बद्रिप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, बिन्दादेवी आलेमगर, सरिता प्रसाई र सुरेन्द्रराज पाण्डेको पदावधी आज सकिएको हो ।
राजपाका रमेश प्रसाद यादव र वृषेशचन्द्र लाल, समाजवादिका रामप्रित पासवान र राष्ट्रपतिबाट मनोनित युवराज खतिवडा आजबाट पदमुक्त भएका हुन् ।
१९ सांसदको पदावधी सकिएसंगै राष्ट्रिय सभामा कांग्रेसका ६, राजपाका २ र समाजवादिका १ गरी ९ सांसद मात्र प्रतिपक्षीका रुपमा रहने भएका छन् । रिक्त स्थानमा पदपुर्तिका लागि माघ ९ गते भएको निर्वाचनमार्फत नेकपाका १६ र राजपाका २ गरी १८ सांसद निर्वाचित भएका छन् ।
राष्ट्रपतिबाट मनोनित गर्ने एकजनाको भने टुंगो लाग्न बाँकी छ । निर्वाचित सांसदले भोलि राष्ट्रिय सभामा पदभारग्रहण गर्नेछन् । राष्ट्रपतिले मनोनित गर्ने १ सदस्यमा भने सत्तारुढ नेकपामा विवाद कायमै छ । सत्तारुढ नेकपाको सचिवालयले नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गरेपनि प्रधानमन्त्रीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने मनासाय राखेपछि विवाद उव्जिएको हो ।


प्रतिक्रिया दिनुहोस