आज :

ताजा समाचार

नेकपा सचिवालयमा अप्रत्यासित ‘ब्रिफिङ’

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७६, सोमबार ०६:५८      410 Views

काठमाडौं: नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो ।

उनीहरूको निर्देशनअनुसार महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे ।

बैठक आह्वान भएपछि नेताहरूले ‘वामदेव प्रकरण’बारे पक्कै छलफल हुने ठाने । ‘एजेन्डा जानकारी गराइएको थिएन ।

विवादमा राष्ट्रियसभाको मनोनीत एउटा कोटामा वामदेव गौतम वा डा. युवराज खतिवडा भन्ने विषय थियो ।

यसमै छलफल केन्द्रित होला भन्ने अनुमान थियो’, सचिवालयका एक सदस्यले भने, ‘त्यही भएर बैठक आह्वानलगत्तै नेताहरू आआफ्नो तयारीमा लागेका थिए ।’

प्रधानमन्त्री केपी ओली भने ग्रान्डी अस्पताल गए । उनले त्यहाँ गाडी दुर्घटनामा परी उपचाररत नेकपा मालेका महासचिव सीपी मैनालीलाई भेटे । मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । लगत्तै उनी आफ्नो नियमित स्वास्थ्य परीक्षणतिर लागे ।

त्यही बेला उपाध्यक्ष वामदेव गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका थिए । दाहालसँग बिहान झन्डै एक घण्टा बातचित गरी उनी त्यहाँबाट बाहिरिए ।

दाहाल भने ऊर्जामन्त्री वर्षमान पुनलगायत केही नेतासँग सामान्य छलफल गरी सचिवालय बैठकका लागि बालुवाटारतर्फ हिँडे ।


प्रतिक्रिया दिनुहोस