काडमाण्डौ : रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीले संघीयता र धर्म निरपेक्षका विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ ।
लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले संघीयता र धर्मनिरपेक्ष विवादित बन्दै गएको भन्दै यी विषयमा जनमत संग्रह गर्न माग गरेको हो । भ्रष्टाचार र नीतिगत अराजकता अन्त्य गर्न भन्दै पार्टीले २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने समेत माग गरेको छ ।
छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पार्टीको भनाइ छ । यस्तै, सरकारी तलब लिने कर्मचारीहरुको युनियन खारेज गर्नुपर्ने र सांसद तथा जनप्रतिनिधिका नाममा वितरण हुदै आएको बजेट रोकेर त्यो रकम शिक्षा क्षेत्रमा खर्च गर्नुपर्ने माग समेत पार्टीले गरेको छ ।
त्यसैगरी, गरिबीको रेखामुनि रहेका मजदुर, किसान, सुकुम्बासी, विद्यार्थी र अन्य नागरिकलाई सक्दो सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्न पनि साझा पार्टीले माग गरेको छ ।
लुम्बिनी घोषणापत्र जारी गर्दै साझा पार्टीले आगामी एक वर्षको कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजनामा वर्षभरि संगठन विस्तारलाई जोड दिने र समान विचार राख्ने दलसँग एकता गर्ने घोषणापत्रमा उल्लेख छ ।