काठमाण्डौ : अमेरिका र विद्राेही समूह तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अफगानिस्तानमा १८ वर्षदेखि भैरहेको द्वन्द्व अन्त्यको लागि अमेरिका र तालिवानबीच कतारको दोहामा शान्ति सम्झौता भएको हो ।
सम्झौतामा अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र तालिवानका प्रतिनिधीले हस्ताक्षर गरेका छन् । सम्झौताको पूर्ण पालना भएमा अमेरिका र उत्तर एटलान्टक सन्धी संगठन नाटोका सैनिकले १४ महिनाभित्र अफगानिस्तान छाड्न सक्ने भएका छन् ।
तालिवान र अमेरिकाबीच शान्ति सम्झौता भएपछि अफगानिस्तानमा १८ वर्षदेखि भैरहेको द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी फौज तैनाथ हुँदै आएको छ । युद्धका क्रममा २४ सयभन्दा धेरै अमेरिकी फौज मारिएका छन् भने अझै १२ हजारभन्दा धेरै सैनिक अझै अफगानिस्तानमा रहेका छन् ।
शान्ति सम्झौतालाई विश्व समुदायले ठूलो महत्वका साथ हेरिरहेको छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो । अमेरिकाको पेन्टागनमा आक्रमण भएपछि अमेरिकाले २००१ मा अफगानिस्तान सरकारलाई सैन्य लगायत सहयोग गर्दै तालिवान लडाकुविरुद्ध आक्रमण सुरु गरेको थियो ।
अमेरिकाले नै तालिवानसँग सम्झौताका लागि आह्वान गरेकाे हाे । संयुक्त घोषणासभामा अफगानिस्तानका राष्ट्रपति असरफ घानी, अमेरिकी रक्षामन्त्री मार्क एस्पर सहित उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जिन्स स्टेलनबर्ग लगायतको उपस्थिती रहेकाे थियाे ।