काठमाडाैं: कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि हिजो एकपक्षीय रूपमा विभाग गठन गरेपछि कांग्रेसमा आन्तरिक विवाद चर्किएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गर्नुभएको जनाइएको छ । देउवाले विधानविपरित विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापनइतरका नेताहरूले लगाएका छन् ।
देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपती छ ।
विभाग गठन हुनासाथ वीरगंजको कार्यक्रममा रहेका वरिष्ठ नेता पौडेल. महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजालसहितका नेताहरूबीच त्यही आकस्मिक भेला भएको थियो । भेलाले विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।