काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफैंले छानविन नगर्ने भएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिएका थिए ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बास्कोटा प्रकरणबारे छलफल भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको र अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउनु भएको छ ।
यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको दाबीलाई भने उहाले अस्वीकार गर्नुभएको छ ।
त्यस्तै नेकपा सचिवालयको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गर्नुभएको थियो ।
नेकपा कार्यदलले सर्वसम्मत रुपमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएको छ । यसका लागि आवश्यक परे अमेरिका सरकारसँग समेत कुराकानी गर्नुपर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
सल्लाहकार थापाकाअनुसार यसबारे नेकपा सचिवालयको आगामी बैठकमा थप छलफल हुनेछ ।
बैठकले प्रदेश २ का अध्यक्ष प्रभु साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साहले ललिता निवास प्रकरणमा पार्टीका वरिष्ठ नेता समेत रहेका तत्कालीन प्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने माग गर्दै आएका छन् ।