काठमाडौं । नेपाल भारत दसगजा क्षेत्रमा अवैध रुपमा बनाइएका घर टहरा डोजर लगाएर हटाइएको छ । दसगजा क्षेत्र नो मेन्स ल्याण्ड भएकाले सो सिमाना कसैको नभएको हुँदा त्यसलाई खाली गराइएको हो ।
छिमेकी मुलुक भारतको सिमाना जोडिएको बाराको मटिअर्वा नाका वरिपरि सीमा क्षेत्रको करिब ५ किलोमिटर लामो भूभागमा रहेका अवैध घरटहरा र पसल सशस्त्र प्रहरीले खाली गराएको छ ।
मटिअर्वास्थित पिलर संख्या ३८३ मा बनाइएका घरटहरा खाली गराइएको हो । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा सीमा क्षेत्रमा रहेका भौतिक संरचना हटाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए ।
दसगजा क्षेत्रमा ३९ घर परिवारले घर पसल गरेका थिए । त्यसमध्ये अधिकांश नेपाली पक्षले घरटहरा बनाएका थिए भने भारतीयले पसल गरेर बसेका थिए । राजधानी दैनिकबाट साभार ।