आज :

ताजा समाचार

परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग सञ्चालन गर्न भक्तपुर मानन्धर समुदाय इच्छुक ।

  रामप्रसाद ढकाल    १४ माघ २०७६, मंगलवार ०८:४८      1054 Views

भक्तपुर,
भक्तपुरमा परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग सञ्चालन गर्न भक्तपुर मानन्धर समुदाय इच्छुक रहेकाे जनाएका छन् ।
पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामग्री उत्पादन गर्ने उद्योग जिर्ण बनेको प्रति चासो व्यक्त गर्दै मानन्धर समुदायले उद्योग सञ्चालनको बहस शुरु गरेका हुन । भक्तपुरमा करिव ३ हजार पाँच सय मानन्धर समुदायको बसोबास रहे पनि पाँच घर परिवारले मात्र मुस्किलले तोरीको तेल उत्पादन गर्दै आएका छन् । ती पनि प्राविधिक कारणले बन्द हुने अवस्थामा छन् । त्यसैले मौलिक पेशा संकटमा परेसँगै मानन्धर समुदायले तोरीको तेल उत्पादन गर्ने उद्योग पुनःसञ्चालनको बहस शुरु गरेका हुन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष न्हुछेरत्न मानन्धरले समुदायभित्रको पुँजीलाई एकीकृत रुपमा परिचालन गर्नुपर्ने बताए । ‘म आफै भक्तपुर चेम्बर अफ कमर्सको पनि अध्यक्ष हुँ । चेम्बरको उद्देश्यसँग मानन्धरहरुको परम्परागत पेशालाई जोडेर उद्योग सञ्चालनको पहल भक्तपुरबाटै गर्नुपर्छ ।’ उनकाे भनाइ थियाे । उहाँले गुणस्तरीय उत्पादनमा ध्यान दिन सके समुदायको संयुक्त लगानीमा तयार हुने तोरीको तेललाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सकिने बताए ।
त्यस्तै, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा गर्नेमा मौलिक सामग्रीको उत्पादनले टेवा दिने बताए । आयात कम गरेर निर्यात बढाउन सके सरकारको समृद्धिको नारा पूरा हुने राज्यमन्त्री मानन्धरको भनाई छ ।
संघले राष्ट्रिय जीवनका फरक विधामा योगदान दिएका प्रबुद्ध व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सोहीक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता प्रवीण मानन्धर, भक्तपुर चेम्बर, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षदेखि नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको थियाे ।


प्रतिक्रिया दिनुहोस