आज :

ताजा समाचार

कांग्रेस पार्टी कार्यालय : भित्र नेता, बाहिर झडप

  पुरुषोत्तम ढकाल    १४ माघ २०७६, मंगलवार ०७:४७      903 Views

काठमाडौं : पार्टीभित्रको डेढ महिनादेखिको आन्तरिक किचलो टुंग्याएर सोमबार कांग्रेसका सबै नेता केन्द्रीय कार्यालय सानेपामा जम्मा भएका थिए।

मंसिर २६ गतेदेखिको केन्द्रीय समितिको बैठक बहिष्कार गर्दै आएको संस्थापनइतर समूह पनि पार्टी कार्यालय पुगेको थियो। बहुमतबाट अगाडि बढ्ने र बहिष्कार गर्ने रस्साकस्सीका बीच लामो समयपछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सबै नेता सानेपामा पुगेका थिए। नेताहरूले पार्टी कार्यालयभित्र महाधिवेशनको आन्तरिक कार्यतालिकामा सहमति खोजिरहेका बेला कार्यालयबाहिर भने कार्यकर्ता भने एकआपसमा आक्रमणमा उत्रिएका थिए।

झडपको विषय थियो नेपाल विद्यार्थी संघको विधान। विधानअनुसार ३२ वर्षमुनिको कार्यसमिति गठन हुनुपर्ने माग गर्दै डेढ महिनादेखि पार्टी कार्यालय सानेपाको मूल गेटमा रिले अनशन बसिरहेको एक विद्यार्थी समूह सोमबार आमरण अनशन बस्ने तयारीमा थियो। पार्टीका शीर्ष नेताबीच महाधिवेशन आयोजक समितिमा उमेर हद लागू नगर्ने गरी नेविसंघ तदर्थ समिति गठन गर्ने समझदारी भएपछि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेनिकट विद्यार्थी अनशन बस्दै आएका थिए।

रिले अनशनको संयोजन गर्दै आएका नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी सोमबारदेखि पार्टी कार्यालयमै आमरण अनशन बस्ने तयारीमा थिए। उमेर हदको विरोध गर्दै आएको विद्यार्थी समूहले उनीहरुमाथि आक्रमण गरेको थियो। आक्रमणबाट नेता काफ्ले, कमल पन्त र लक्ष्मी बोगटीलगायत घाइते भएका छन्।

‘हामी शान्तिपूर्ण रुपमा आमरण अनशनमा बसिरहेका बेला अर्काे समूहले नियोजित रुपमा आक्रमण गरेको हो,’ पोखरा विश्वविद्यालयको केन्द्रीय सचिव सुजन कँडेलले भने, ‘विधानअनुसार पार्टी सञ्चालन हुनुपर्छ भन्ने माग गर्दा भौतिक आक्रमण भएको छ। यसले पार्टीभित्रको अराजकतालाई देखाएको छ।’

केन्द्रीय समिति बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्ने बेला विद्यार्थी नेता कार्यकर्ताबीच झडप भएको थियो। साँझ अबेर पनि अनशनरत विद्यार्थीमाथि आक्रमण भएको सचिव कँडेलले बताए। पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस