काठमाडौँ : मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।
हिजो राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्ताे प्रावधान राखिएको हो ।
समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित पारित गरिएको बताउनुभयो ।
सभापति गुरुङले दण्ड जरिबानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उलंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको बताउदै काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको र पत्रकार सदस्यका लागि १० वर्षको अनुभव अथवा कम्तिमा स्नातक तह उतिर्ण गरेको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको पनि सभापति गुरुङले जानकारी दिनुभयो ।