आज :

ताजा समाचार

कोरोना महामारी – चीनका आठवटा शहरको आवागमनमा बन्देज

  पुरुषोत्तम ढकाल    १० माघ २०७६, शुक्रबार ०७:५४      616 Views

एजेनसी : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनका आठ वटा शहरको आवागमनमा बन्देज लगाइएको छ र कोरोनाको महामारीका कारण २५ जनाको  मृत्यु भइसकेको छ भने ६ सय भन्दा बढी प्रभावित भएको बताइएको छ ।

नयाँ घातक रोगबाट बच्न एक करोड १० लाख जनसंख्या भएका वुहान शहरका साथै ८५ लाख जनसंख्या भएको ह्वाङ गाङ तथा इजौ शहरमा पनि यातायातमा बन्देज लगाइएको छ । त्यहाँका बासिन्दालाई अन्यत्र नजान पनि आग्रह गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलगायत विभिन्न देशमा श्वासप्रश्वासका बिरामी बढ्दै गएकाले आपतकालीन अवस्थाको घोषणा गरेर रोग नियन्त्रणका उपाय खोज्नुपर्ने जनाएको छ ।

भोली शनिबार सुरु हुने नयाँ वर्ष मनाउन लाखौं चिनियाँ नागरिक विदेश भ्रमणमा जाने भएकाले रोगको संक्रमण थप फैलन नदिनसमेत डब्ल्यूएचओले अधिकारीहरुलाई सचेत गराएको बीबीसीले जनाएको छ ।

चीन सरकारले नयाँ वर्षमा उत्सव नमनाउन र धेरै मानिस सार्वजनिक स्थलमा भेला नहुनसमेत आग्रह गरेको छ ।

यस्तै बेइजिङमा आयोजना गरिएको नयाँ वर्षको उत्सवको सार्वजनिक कार्यक्रम रद्द गरिएको छ भने सिनेमा हल र सार्वजनिक स्थलहरुमा समूह बनाएर जान प्रतिबन्द लागाइएको छ ।


प्रतिक्रिया दिनुहोस