काठमाडौं : सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ ।
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो।
उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरु बिहान नौं बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो । सरोकारवाला संघ संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ ।