काठमाडौं: पश्चिमी वायुको प्रभावले मौसममा उतारचढाव भइरहेको छ । सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस रह्यो । पौने ७ बजे ३ डिग्री रहेको थियो । चिसो फेरि बढेको हो । अधिकतम तापक्रम १६ डिग्रीसम्म पुग्न सक्नेछ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार बिहान देशको पूर्वी भूभागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
मध्यान्हसम्म सबै क्षेत्रमा बदली हुनेछ । मध्य र पश्चिम नेपालमा वर्षा हुने सम्भावना रहेको छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।
तराईमा हुस्सु र कुहिरो छ । दिनभर पनि प्रभाव पार्ने पनि जनाइएको छ ।
उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारणलाई अनुरोधसमेत गरिएको छ।
पश्चिमी वायुको प्रभाव मंगलबार बिहानसम्म मात्रै रहने छ । मौसमविद् श्रेष्ठले प्रभाव छोटो हुने बताए । उनले सोमबार राति नै पनि यो प्रभाव सकिन सक्ने बताए ।