आज :

ताजा समाचार

राष्ट्रियसभाको निर्वाचनमा राजपामा विवाद, आर्थिक चलखेल गरेर उम्मेदवार चयन गरेको आरोप

  पुरुषोत्तम ढकाल    १ माघ २०७६, बुधबार १५:१०      620 Views

काठमाडौं:  माघ ९ मा हुने राष्ट्रिय सभाको निवार्चनमा राष्ट्रिय जनता पार्टी नेपालले चयन गरेका उम्मेदवारका विषयमा पार्टीभित्र विवाद सुरु भएको छ। कतिपय नेताहरुले नै आर्थिक चलखेल गरेर उम्मेदवार चयन गरेको आरोप नेतृत्वलाई लगाउन थालेका छ्न्। प्रदेश २ को हकमा राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र राजपाले चुनावी तालमेल गर्ने सहमति गरे पछि राजपामा टिकट पाउन सहमति हुने वित्तिकै पार्टीभित्र दौडधुप सुरु भएको थियो।

यसमा ५० जना भन्दा बढी आकाक्षींहरु काठमाडौं बसेर लविङ गरेका थिए। यसपटक पार्टीबाट जसले टिकट पाउछ, उसले चुनाव जित्ने  निश्चित हुने र ६ वर्षसम्म मन्त्री पनि हुने सम्भावना भएकोले  राष्ट्रिय सभाको टिकट पाउन आकाक्षींहरुले मरिहत्ते गरेर लागेका हुन। ५० जना भन्दा बढी आकाक्षींहरुलाई पछार्दै सप्तरीका शेखर सिंह र सप्तरीकै मृगेन्द्र सिंह यादवले टिकट पाए। यससपछि पार्टीमा विवाद सुरु भयो।

राजपाका अध्यक्ष मण्डलका सदस्य द्धय शरतसिंह भण्डारीको सिफारिशमा सिंह र राजेन्द्र महतोको सिफारिशमा यादवले टिकट पाएका थिए। अघिल्लो पटक राष्ट्रिय सभाको निर्वाचनमा महन्थ ठाकुर र महेन्द्र यादवले एक-एक जना उम्मेदवार सिफारिश गर्ने अवसर पाएका थिए। जसअनुसार विर्खेशचन्द्र लाल र रमेश यादवले त्यो मौका पाएका थिए। त्यसैले यसपटक भण्डारी र महतोलाई उम्मेदवार छान्ने अवसर दिइएको बताइन्छ।

आफूले पाएको अवसरको फाइदा उठाउँदै भण्डारी र महतोले सभ्रान्त परिवारका र राजावादी पृष्ठभूमि भएका सिंह र यादवलाई टिकट दिए। यी दुवै नेता सप्तरीका हुन्। यसमा ठूलो आर्थिक चलखेल भएको दावी असन्तुष्ट नेताहरुले गरेका छन। राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झाले राष्ट्रिय सभाको निर्वाचनमा राजपाले छानेको उम्मेदवारको विषयमा कार्यकर्ता पक्तिंमा विभिन्न आशंकाहरु उत्पन्न भएको बताए।

‘राष्ट्रिय सभाको निर्वाचननमा राजपाले छानेका उम्मेदवारको विषयमा विभिन्न शंका आशंका जन्मेका छन,’झाले भने, ‘पार्टीमा यस्तो असन्तुष्टि आउनु हुदैनथ्यो। यसबाट निराशा उत्पन्न गराउछ।’

राजपाका यसअघिका प्राय सबै बैठकहरुमा महतो र भण्डारीको आलोचना गर्ने गरेका अनिल झा र राजकिशोर यादवले यसपटक महतो र भण्डारीको सिफारिशलाई आलोचना गरेनन। बरु उल्टै भण्डारीले अघि सारेका प्रस्तावमा झाले समर्थक बसे  र महतोले उठाएको प्रस्तावमा यादव समर्थक बसे। ‘यो सबै आर्थिक चलखेलबाट संभव भएको बताइन्छ। आर्थिक चलखेल नभए यो सम्भव थिएन, ’राजपाका एक उपाध्यक्षाले ठोकुवाको साथ भने।

राजपाले छानेका उम्मेदवारको विषयमा राजपाका नेता ठाकुर पनि असन्तुष्ट छन्। स्रोतका दावी छ, पार्टीमा असन्तुष्टि बढे पछि ठाकुरको निर्देशनमा पुस २७,२८ र २९ गते महोत्तरीको बर्दीबासमा हुने भनिएको तयारी समितिको बैठक र मतदाता प्रशिक्षण कार्यक्रम स्थगित गरिएको छ।

यसअघि बर्दीबासमा पुसको अन्तिम साता ३ दिन बैठक गरी महाधिवेशनको तयारीको बारेमा छलफल गर्ने तथा प्रदेश २ को राष्ट्रिय सभामा पार्टीको तर्फबाट चुनाव जितेका मतदाताहरुलाई बोलाएर प्रशिक्षण दिने कार्यक्रम गरिएको थियो। यसैगरी एक दिन पर्यवेक्षकहरुलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय गरिएको थियो। तर पार्टीभित्र असन्तुष्ट बढ्दै गए पछि तीन दिनको कार्यक्रम स्थगित भएको छ। अर्को मिति पनि तय गरिएको छैन।

पार्टीभित्र विवाद बढ्दै गए पछि राजपाका नेताहरुले राष्ट्रिय सभाको निर्वाचनमा गाउँपालिकाबाट निर्वाचित मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षहरुले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने आशंका पार्टीका शिर्ष नेताहरुले नै गर्दै हिडेका छन्। यसको फाइदा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उठाउने भएका छन। यसपटक यादवले प्रदेश २ को राष्ट्रिय सभाको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्। राष्ट्रिय सभाको प्रदेश २ को निर्वाचनमा नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टीवीच चुनावी तालमेल भएको छ।


प्रतिक्रिया दिनुहोस