काठमाडौं :शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा अंकतालिकाको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले आठौं स्थानमा रहेको संकटा क्लबसँग खेल्नेछ।
त्रिभुवन आर्मी क्लब पाँच खेल खेलेर ४ जित र १ हार ब्यहोर्दै १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जितेको खण्डमा आर्मीलाई तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ। अहिले शीर्षस्थान रहेको मछिन्द्रको १३ अंक छ।
यता संकटा क्लब पाँच खेल खेलेर २ जित, २ हार र १ बराबरी खेल्दै तालिकाको आठौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा संकटा क्लब तालिकाको चौथो स्थानसम्म उक्लन सक्छ।
आर्मीका कप्तान भरत खवास यसअघिको सरस्वती युथ क्लबसँगको खेलमा खेल १३ मिनेटमै चोटका कारण बाहिरिएका थिए। आजको खेलमा पनि उनले खेल्ने सम्भावना कम रहेको छ।
‘आजको खेल खेल्नेमा डाउट नै छ। किनभने मसलमा थोरै समस्या छ। वार्मअप गरेर हेर्छु सकिँन्छ कि सकिँदैन। खेल्ने नखेल्ने त्यसपछि नै टुङ्गो लाग्छ।’ खवासले पहिलोपोस्टसँग भने, ‘तर, म नखेल्दा पनि टिममा ठूलै प्रभाव पर्ने भन्ने चाहीँ हुँदैन। अरु खेलाडी पनि राम्रो छन् हामीसँग। यति हो की सँधै खेलिरहेको खेलाडी नखेल्दा तालमेल नमिल्ने हो की भन्ने चाहीँ हुनसक्छ।’
उनले यसअघिको सरस्वती क्लबसँगको खेलमा आर्मीले क्षमता अनुरुप खेल्न नसकेको स्वीकार्दै लिगमा यस्ता उतारचडावहरुलाई सामान्यरुपमा लिनपर्ने बताए।
‘अस्तिको खेलमा गोल डिस्टेन्स बढाउनु पर्ने थियो। लिगमा कहिलेकाही उतारचडाव त भइ नै रहेको हुन्छ। अस्ति मैदानको अवस्था पनि प्रतिकुल भएकाले अलि गाह्रो भयो।’ उनले भने।