आज :

ताजा समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका खेलहरु सकिंदै

  पुरुषोत्तम ढकाल    २४ पुष २०७६, बिहीबार ०८:१०      516 Views

काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका खेलहरु सकिंदै छन् । दशरथ रंगशालमामा आज दुई खेल भएपछि पाँचौ चरणका खेलहरु सकिने छ ।

आज मध्यान्ह १२ बजे हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन् । गत संस्करणको उप–विजेता संकटा जारी लिगमा ११ औं स्थानमा छ भने एपीएफ १० औं स्थानमा छ ।

दुवै टिमले समान ४–४ अंक जोडेका छन् । आजको विजेता टिम सातौं स्थानमा उक्लने छ । आजै दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबको सामना गर्ने छ ।

आर्मी जारी लिगमा ९ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आज विजयी भएको खण्डमा आर्मी क्लब १२ अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लिने छ ।

११ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लब अहिले शीर्ष  स्थानमा रहँदा १० अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । सरस्वतीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन् ।

यसअघि हिजोको खेलमा थ्रिस्टार क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीलाई ३/१ ले हराउँदा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसंग २/२ गोलको बराबरी खेलेको छ ।

च्यासलका लागि दुवै गोल कप्तान सन्तोष साहुखलले गरे । सन्तोषले लिगमा एक सय एक गोल पु¥याएका छन् ।


प्रतिक्रिया दिनुहोस