आज :

ताजा समाचार

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा सत्तारुढ नेकपा हाबी

  पुरुषोत्तम ढकाल    २४ पुष २०७६, बिहीबार ०७:४८      602 Views

काठमाडौं: आगामी माघ ९ गते राष्ट्रिय सभाका १८ सदस्य पदका लागि निर्वाचन हुँदैछ। ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १८ जनाको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।
राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। फागुनमा कार्यकाल सकेर बिदा हुनेमा नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना छन्।
सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बास्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदैछ।
राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ।  माघ ९ पछि कांग्रेसले राष्ट्रियसभाबाट आफ्ना सात जना सांसद्‌ गुमाउँदै छ। प्रदेश २ मा नेकपाले राजपासँग र कांग्रेसले समाजवादीसँग तालमेल गरेर उम्मेद्वार मनोनयन गरेका छन्। राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता रहनेछन्।
यस्तो छ अंकगणित
प्रदेश – १
प्रदेश १ मा नेकपाबाट गोपी अछामी, देवेन्द्र दाहाल, इन्दु गौतम र कांग्रेसबाट नीरबहादुर विश्वकर्मा, मीना पुलामी मगर, राजेन्द्र घिमिरे उम्मेद्‌वार बनेका छन्।यो प्रदेशमा कुल ३६७ मत छ। जसमा नेकपाबाट २३०, कांग्रेसको १२६ र अन्य ११ जना मतदाता छन्‌।
प्रदेश – २  
प्रदेश २ मा नेकपाबाट तुलसा दाहाल, राधेश्याम पासवान  उम्मेदवार  बनेका छन्। त्यस्तै कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार, रामपृत पासवान र अनिरुद्ध सिंह, समाजवादीबाट मृगेन्द्रसिंह यादव र राजपाबाट शेखर सिंह उम्मेद्‌वार छन्।  प्रदेश २ मा कुल मत ३७९ छ। यहाँ नेकपाका ११५ जना, कांग्रेसका १०० जना, समाजवादीका ८२ जना, राजपाका ६९ जना मतदाता र अन्य १३ जना मतदाता छन्। यहाँ नेकपाले राजपासँग र कांग्रेसले हालै सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ।
प्रदेश – ३
प्रदेश -३ मा नेकपाबाट अध्ययनशील नेताको छवि बनाएका बेदुराम भुसाल र गंगा बेल्वासे उम्मेद्‌वार छन्। त्यस्तै कांग्रेसबाट हरिशरण श्रेष्ठ र छलीकुमारी शर्मा उपाध्यायले मनोनयन दर्ता गराइसकेका छन्। जम्मा ३८४ जना मतदाता रहेको प्रदेश ३ मा नेकपाका २४७ जना, कांग्रेसका ९५ जना र अन्य ७ जना मतदाता छन्।
गण्डकी प्रदेश –  गण्डकी प्रदेशमा पनि नेकपा र कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन्। यहाँ नेकपाका दुवै उम्मेदवार यसअघि भएको निर्वाचनमा पराजित भएका हुन्‌। नेकपाले पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेलाई उम्मेदवार बनाएको हो। कांग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ। यहाँ जम्मा २३० जना मतदाता छन्। नेकपाको १२३, कांग्रेसको ९७ र अन्य १० मतदाता छन्।
प्रदेश – ५
प्रदेश ५ मा नेकपाले बिमल घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराईलाई चुनावमा उतारेका छन्। कांग्रेसले गिरिजादेवी न्यौपाने, बालकृष्ण पाण्डे र मेराज अहमद हलवाईलाई उम्मेद्‌वार बनाएको छ। यहाँ जम्मा ३०५ जना मतदाता छन्। नेकपाका १९१, कांग्रेसका ८७ जना र अन्य २७ जना मतदाता छन्।
कर्णाली प्रदेश – कर्णाली प्रदेशमा नेकपाले मायाप्रसाद शर्मा र सुमित्रा बिसी एवम्‌ कांग्रेसले डिल्लीराम पाठक र  सावित्री पौडेललाई उम्मेदवार बनाएको छ। यहाँ पनि अन्य प्रदेशमा जस्तै नेकपाकै बहुमत देखिएको छ। कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा १९८ जना मतदाता छन्। जसमा नेकपाका १४३ जना, कांग्रेसका ४७ र अन्य ८ जना मतदाता छन्।
सुदूरपश्चिम प्रदेश – सुदुरपश्चिम प्रदेशबाट पनि राष्ट्रियसभा निर्वाचनमा ४ जना उम्मेद्‌वार छन्। यहाँ नेकपाबाट दुई र कांग्रेसबाट दुई जना उम्मेद्‌वार चुनावी मैदानमा छन्। कुल २२९ जना मतदाता रहेको सुदुरपश्चिम प्रदेशमा नेकपाले तारामान स्वाँर र शारदा भट्ट तथा कांग्रेसले प्रताप ठगुन्‍ना र तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ। सुदुरपश्चिम प्रदेशमा नेकपाको १४१, कांग्रेसको ७३ र अन्य १५ जना मतदाता छन्। मतदाताको हिसाब गर्दा सबै प्रदेशमा नेकपाकै उम्मेद्‌वारहरुले चुनाव जित्‍ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस