आज :

ताजा समाचार

प्रदेश तीनको नाम वागमती र राजधानी हेटौँडा नै राख्न नेकपाको फेरि निर्देशन

  पुरुषोत्तम ढकाल    २३ पुष २०७६, बुधबार ०७:०७      613 Views

मकवानपुर:  नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश–३ को नाम वागमती र स्थायी राजधानी हेटौँडा राख्न फेरि निर्देशन दिएको छ ।

आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै पार्टी सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई काठमाण्डौ बोलाएर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि निर्देशन दिनुभएको हो।

पार्टीका महासचिव बिष्णु पौडेलसमेत सहभागी छलफलमा प्रदेश राजधानी हेटौँडा राख्नु विभिन्न दृष्टिमा महत्वपूर्ण रहेको भन्दै शीर्ष नेताहरुले पार्टीको निर्देशन मान्न फेरि निर्देशन दिइएकाे बैठकमा सहभागी प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो ।

हेटौँडा राजधानी तोक्ने विषय जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको तीन वटा समूह सोमबार नै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाण्डौ आएको थियो । तर, पहिले गरेको निर्णयबाट पार्टी सचिवालय पछि नहटेपछि प्रदेशका नेता, सांसद र मन्त्रीहरु मंगलबार हेटौँडा फर्किएका छन् ।

दुई घण्टासम्म प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकपछि स्थायी राजधानी हेटौँडा कायम गर्न सबै सहमत भएको मन्त्री जमरकटेलले जानकारी दिनुभयो ।

मंगलवार मुख्यमन्त्री निवासमा हुने भनिएको संसदीय दलको बैठक छोडेर नेताहरु काठमाण्डौ आएका कारण मंगलवार बस्ने भनिएको नेकपाको प्रदेश ३ संसदीय दलको बैठक पनि स्थगित भयो । बुधवार प्रदेश सभा बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बस्ने नेकपा प्रदेश ३ ले जनाएको छ ।

नामको विषयमा सहमति जुटे पनि राजधानी विवादले हेटौँडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो।


प्रतिक्रिया दिनुहोस