काठमाडौं: राष्ट्रिय सभा सदस्यको ९ माघमा हुने १८ रिक्त पदका लागि ४५ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् ।
आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रममा सातै प्रदेशमा गरी विभिन्न दलका ४५ जनाले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राष्ट्रिय सभा सदस्यको १८ रिक्त पदका लागि ४५ जना उम्मेदवारको मनोनयन दर्ता भएको बताए ।
सातै प्रदेशमा उम्मेदवारको मनोनयपत्र दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले जानकारी दिएका हुन् । उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्ताका लागि आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको थियो । आयोगका अनुसार आगामी २० फागुनमा राष्ट्रिय सभातर्फ सदस्य रहेका १८ जनाको पहिलो २ वर्षको कार्यकाल पूरा हुँदै छ ।
दुईवर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य छन् ।
निर्वाचनमार्फत महिला सात, दलित दुई, अल्पसंख्यक २ र अन्य समूहबाट ७ गरी १८ जना सदस्य चुनिनेछन् ।
उम्मेदवारहरूले प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गरेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् ।