आज :

ताजा समाचार

पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब

  पुरुषोत्तम ढकाल    २१ पुष २०७६, सोमबार ०७:३०      479 Views

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्। पूर्वमाओवादी समूहका नेताहरुले दाहाल निवास खुमलटारमै पुगेर दबाब दिएका हुन्। दाहालले आफ्नै समूहबाट आएको दबाब थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषय टुंगो लगाउन सकेका छैनन्। दाहाल निवासमा पूर्वमाओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन्।
दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन्। ‘हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरुलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं। सभामुखको विषय टुंगिएको छैन’, पौडेलले भने।
सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ। एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा पार्टीका कार्यकारी अध्यक्ष दाहाल निवासमा सोही विषयमा छलफल भएको थियो। दाहालले सभामुख पद कार्यकारी अध्यक्षसँग साटेको हल्लापछि पूर्वमाओवादी नेताहरुले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतले जनायो।
‘जनआन्दोलन र जनयुद्धका समान पक्षलाई समेट्न हाम्रो प्रयास जारी छ। प्रधानमन्त्री पद केपी ओलीलाई पाँच वर्षका लागि छाडेको हो भन्दैमा अन्य पदमा पनि एकलौटी गर्न दिइँदैन। त्यसका लागि हामीले खुमलटारमा निरन्तर छलफल गरिरहेका छौं’, पूर्वमाओवादी सम्बद्ध स्रोतले भन्यो। स्रोतका अनुसार पूर्वमाओवादी समूहबाट अग्नि सापकोटालाई सभामुख बनाउने प्रयास जारी छ। सचिवालय बैठकमा अध्यक्ष दाहालले सापकोटाको नाम प्रस्ताव गरेको भए पनि ओलीले सुवास नेम्बाङको नाम अघि सारेका छन्। ‘दुवै अध्यक्षले आफ्ना तर्फबाट सभामुखको नाम प्रस्ताव गरिसकेका छन्। ती नामबारे छलफल गरेर छिटै टुंगो लगाउने हामीले बुझेका छौं’, एक नेताले भने। सभामुख विवादमा माधव नेपाल समूह भने मौन छ।
सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी चलेको छ। पूर्वएमालेको पनि ओली समूह सुवास नेम्बाङ र माओवादी समूह अग्नि सापकोटालाई सभामुख बनाउने कसरतमा छन्। माधव नेपाल समूह भने मौन छ।
दाहाल निवासमा मंसिर ३० गते नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना नेताबीच छलफल भएको थियो। त्यसपछि पनि टोपबहादुर रायमाझी, जनार्दन शर्मालगायतका नेताहरुले निरन्तर दबाब दिइरहेका छन्। ‘पूर्वसहमति अनुसार जनआन्दोलन र जनयुद्धको फरक पृष्ठभूमिबाट आएका दुई पार्टीको एकीकरण भएको छ। त्यसमा दुवै पृष्ठभूमिका नेताहरुलाई सहभागी गराउनुपर्छ भन्ने हाम्रो भनाइ हो। सोही विषयमा हाम्रो छलफल हुने गरेको छ। अध्यक्ष दाहाललाई पनि यही सुझाव दिएका छौं’, पौडेलले भने।
‘प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। हाम्रो भागमा परेको सभामुख पद कार्यकारी अध्यक्षसँग साटिएको हल्ला चलेपछि अध्यक्षज्यूसँग स्पष्ट हुन चाहिरहेका थियौं। निरन्तरको छलफलपछि त्यो हल्ला निराधार भएको देखिएको छ तर पनि सार्थक परिणाम नआएसम्म यो दबाब कायम रहन्छ’, बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले सभामुखमा आफू निकटको व्यक्ति ल्याउन खोज्नुभएको छ र दाहाललाई हुन्न भन्न अप्ठ्यारो छ। यी दुवै विषयलाई चिर्न दाहाल आफैंलाई दबाब भएकाले पनि यो बैठक महत्वपूर्ण हुन्छ।’ छलफलमा सहभागी सदस्यले पूर्वएमाले समूहसँग नझुक्न दाहाललाई सुझाव दिएका छन्।
सभामुखमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मलाई स्थगित गरिएको छ। अहिलेका लागि संसद् बैठक सुरु हुनेबित्तिकै सभामुखको चयन पहिलो प्राथमिकता हो। यौन दुव्र्यवहारको आरोप लागेर सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पद खाली छ। ‘घटनाक्रम जसरी अगाडि बढे पनि हामी सभामुख पद छाड्न तयार छैनौं’, पूर्वमाओवादीका एक नेताले भने।
(नागरिक न्यूजबाट)


प्रतिक्रिया दिनुहोस