आज :

ताजा समाचार

काठमाडौंलाई कुरूप बनाउने सबै सामाग्री हटाइने

  पुरुषोत्तम ढकाल    ११ पुष २०७६, शुक्रबार ०७:४९      323 Views

काठमाडौं : सरकारले राजधानी काठमाडौंलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाको सौन्दर्यता कायम राख्न अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने निर्णय गरेको हो ।

बैठकमा सुरक्षा निकायका प्रमुख, काठमाडांै महानगरका प्रमुख तथा काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको संलग्नता थियो । सो बैठकमा काठमाडौंलाई सुुन्दर बनाउन महानगरपालिकाको संयोजकत्वमा सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि र महानगरीय प्रहरी परिसर काठमाडौको सहभागिता रहने गरी चारवटा समूह बनाएर शुक्रबारदेखि ती सामग्री हटाउन सुरु गर्ने निर्णय भएको काठमाडौंका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

सर्वोच्च अदालतले १६ भदौ २०७२ मा महानगर क्षेत्रमा रहेका वातावरणीय स्वच्छता र सहरी सौन्दर्यतालाई व्यवस्थापन गर्न फोहारमैला व्यवस्थापन, होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री तत्काल हटाउन सरकारको नाममा आदेश जारी गरेको थियो ।

यसैगरी, बैठकले अव्यवस्थित रूपमा टाँगिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन सात दिनको समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ ।

त्यस्तै, सडकका दायाँबायाँका तारलाई दूरसञ्चार र विद्युत् प्राधिकरणले अन्डरग्राउन्ड गराउने, सडकका दायाँबायाँ रहेका ट्राफिक सूचना संकेतलाई व्यवस्थित गरिने, ठूला डिजिटल डिसप्ले हटाइने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत निःशुल्क होर्डिङ बोर्डलगायत प्रचार सामग्री हटाउन सूचना प्रकाशन गर्ने, ट्राफिक एफएम तथा मेट्रो एफएममार्फत सूचना सम्प्रेषण गर्नेलगायत निर्णय पनि बैठकले गरेको छ । यसैगरी, अन्य स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारबाही अघि बढाउने बैठकले निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरूप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताए । सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले जनाए ।

गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिए । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस