आज :

ताजा समाचार

नेकपा केन्द्रीय कमिटी बैठक तय, विधान संशोधनदेखि महाधिवेशनबारे छलफल

  पुरुषोत्तम ढकाल    ६ पुष २०७६, आईतवार ०७:३७      634 Views

काठमाडौं:  पार्टी एकताको २० महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक २० पुसमा बस्ने गरी तय भएको छ । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो ।
पार्टी एकतापछि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन र परिचय तथा शपथग्रहणका लागि एकचोटि बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन । तर, पार्टी विधानमा केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्ने व्यवस्था छ ।
नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार २० पुसमा काठमाडौंमा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको छ । स्थायी कमिटी बैठकमा सदस्यहरूले केन्द्रीय कमिटी बोलाउन माग गरेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहमा बैठक बस्न लागेको हो ।
४ सय ४५ जना केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ । यस्तै, विधान संशोधन, पार्टीको एकता महाधिवेशनलगायतका विषयमा समेत गम्भीर छलफल हुने नेकपाले जनाएको छ ।
यस्तै, स्थायी कमिटी बैठकमा सदस्यहरूले सचिवालय कमिटीमा महिला सदस्य थप्नुपर्ने प्रस्ताव अस्वीकार गरिएको छ । बैठकमा अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतका नेताहरूले सचिवालय सदस्यमा महिला सदस्य थपेर समावेशी बनाउनुपर्ने माग गरेका थिए ।
यस्तै, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले समेत सचिवाल कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाललगायतलाई थप्नुपर्ने माग गर्दै आएका छन् । नेकपाको सचिवालय ९ सदस्यीय रहेको छ ।
आलोचना गर्नेलाई धन्यवाद, उठ्यो पूरक प्रश्न
शनिबारको स्थायी कमिटी बैठकमा बोल्दै नेकपा अध्यक्ष दाहालले पार्टी र सरकार सञ्चालनका सम्बन्धमा सदस्यहरूले दिएको सल्लाह, सुझाव एवं आलोचनालाई स्वागत गर्दै धन्यवाद दिए ।
बैठकमा अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा केन्द्रित भई नेताहरूले आफ्ना सल्लाह सुझाव दिएका थिए । बैठकमा आएका सल्लाह, सुझाव, आलोचनाले पार्टी र सरकार सञ्चालनमा सहयोग पुग्ने र प्रभावकारी काम हुने बताउँदै दाहालले नेताहरूलाई धन्यवाद दिए ।
यस्तै, बैठकमा महासचिव पौडेलले समेत विधान संशोधन प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिए ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा उठेका प्रश्नको जवाफ दिने काम अध्यक्ष दाहाल र महासचिव पौडेलले दिइएको बताए । नेकपा स्रोतका अनुसार अध्यक्ष दाहाल र महासचिव पौडेलले जवाफ दिइसकेपछि बैठकमा पूरक प्रश्न उठेको थियो । सोही कारण शनिबार नै समापन हुने भनिएको स्थायी कमिटी बैठक पुनः आइतबार बस्ने र पूरक प्रश्नको जवाफसहित राजनीतिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव संशोधन एवं परिमार्जनसहित पारित हुने बताइएको छ ।
बैठकमा स्थायी कमिटीका सदस्यहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बेदुराम भुसाल, पम्पा भुसाल, लीलामणि पोखरेललगायतका नेताले पूरक प्रश्न गरेका थिए । बैठकमा उठेका प्रश्नको सम्बोधन नभएको भन्दै उनीहरूले पूरक प्रश्न राखेको नेकपा स्रोतले जनाएको छ ।
राष्ट्रपतिको ‘अस्वाभाविक सक्रियता’
सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक चलिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वाभाविक सक्रियता बढेको छ । २९ मंसिरदेखि स्थायी कमिटी बैठक जारी छ । शनिबार पनि स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ११ बजे बस्दै थियो । तर, राष्ट्रपति भण्डारीले सो बैठक बस्नुअघि नै स्थायी कमिटीका सदस्य र केही मन्त्रीलाई शीतल निवास डाकेर बैठकमा भइरहेको छलफल एवं प्रस्तावबारे चासो व्यक्त गरेकी छन् ।
शीतल निवासमा नेकपा महासचिव विष्णु पौडेलसहित मन्त्री, मुख्यमन्त्री पुगेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अर्थमन्त्री युवराज खतिवडा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेता शीतल निवास पुगेका थिए । अर्थमन्त्री खतिवडा नेकपा केन्द्रीय सदस्य हुन् भने अरू सबै स्थायी कमिटी सदस्य हुन् ।
शीतल निवास पुगेका एक नेताका अनुसार छलफलमा राष्ट्रपति भण्डारीले स्थायी कमिटी बैठकमा के भइरहेको छ ?, अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषय कहाँ पुगेको छ ?
लगायतका विषयमा चासो व्यक्त गर्दै प्रश्न सोधेकी थिइन् । एक सातादेखि लगातार नेकपाको स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपति भण्डारीले बैठकका विषयमा यसरी अस्वाभाविक चासो व्यक्त गरेपछि पार्टी अध्यक्ष दाहाल रुष्ट बनेका छन् । नेकपा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीले अस्वाभाविक सक्रियता बढाएको भन्दै आफू निकटका नेतासँग असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस