काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको छ।
भारतीय कंग्रेसको आधिकारिक ट्विटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेको थियो। उक्त भिडिओलाई नै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट भएको हो।
शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले बोलेको भिडिओ रिट्वीट भएका थिए। अहिले त्यो रिट्वीट हटाइएको छ।
गान्धीले भारतमा हाल जारी नागरिकता विधेयकविरूद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय सत्तारूढ दल भाजपाको आलोचनामा गर्दै ट्वीटमा राखेको भिडिओ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरेका छन्।
उक्त भिडिओमा गान्धीले हाल भारतमा जारी कानुन विधेयकविरूद्धको विरोध प्रदर्शनबारे आफ्ना प्रतिक्रिया राखेकी थिइन्। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले जनताको आवाज सुन्नुपर्ने उनले भिडिओमा बताएकी थिइन।
प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले गरेको ट्वीट रिट्वीट भएपछि कलकता डेटलाइनबाट द टेलिग्राफको अनलाइन संस्करण ले ‘रहस्यमय’ भन्दै समाचार नै बनाएको छ। गान्धीको ट्वीट ओलीको ह्याण्डलबाट रिट्वीट भएको भुटानका पत्रकार तेञ्जिङ लामसाङले लेखेका थिए।
रिट्वीट भएको हल्लाखल्ला भएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘सम्माननीय प्रधानमन्त्रीज्यूको ट्वीटर @PM_Nepal बाट अन्यथा रिट्वीट भएको देखिन आएको छ। पासपोर्डको दुरूपयोग गरी यस्तो हुन सक्ने आशंकामा छानबिन भइरहेको छ,’ लेखेर ट्वीट गरेका छन्।
घटनाबारे छानबिन भइरहेको उल्लेख गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई शनिबार मध्यान्ह सेतोपाटीले कसले रिट्वीट गरेको पत्ता लाग्यो भन्ने प्रश्न गर्दा थापाले अझै पनि छानबिन चलिराखेको प्रतिक्रिया दिए।
‘हाम्रो आइटी टिमले छानबिन गरिराखेको छ,’ उनले भने, ‘कसैले पासपोर्ड दुरूपयोग गरेको हो कि भनेर खोज्दै छौं।’
पासपोर्ड दुरूपयोग गरी कसैले ह्याक गरेर रिट्वीट गरेको पनि हुन सक्ने अनुमान उनले गरे।
उक्त ट्वीटर ह्यान्डल प्रधानमन्त्री र उनको सचिवालयले सञ्चालन गर्दै आएको थियो।
भारतमा नागरिक कानुनको विरोध चर्किरहेको छ। विरोध प्रदर्शनमा हालसम्म १३ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।