आज :

ताजा समाचार

नेकपा स्थायी समिति बैठक : मन्त्रीले गरे सरकारी कामको बचाउ, अन्य नेताद्वारा आलोचना

  पुरुषोत्तम ढकाल    ३ पुष २०७६, बिहीबार ०७:२८      590 Views

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका छन् भने अन्य नेताले आलोचना गरेका छन् ।
पूर्व माओवादी समूहका कतिपय नेताले पार्टीभित्रको बढ्दो अराजकता अन्त्यका लागि केन्द्रलाई थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बुधबारको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वी सुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षमन्त्री गिरिराजमणि पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले सरकारले राम्रो काम गरे पनि जनपरिचालनमार्फत स्थापित हुन नसकेको भन्दै बचाउ गरे ।
तर, अन्य नेताले भने सरकारी कामको आलोचना गरेका छन् । नेता पन्तले नेतृत्वले विधान मिच्दै आएको र अमेरिकन सहयोग एमसिसी (मिलिनियम च्यालेन्ज कम्प्याक्ट) का कारण सरकार बदनाम भएको बताए । उनले एमसिसीलाई राष्ट्रिय हितको पक्षमा हुने सुनिश्चितताको अवस्थामा मात्र अघि बढाउन उपयुक्त हुने धारणा राखे ।
नेताहरू मातृका यादव र हरिबोल गजुरेलले पार्टीभित्र गुटबन्दी, अनुशासनहीन र अराजकता बढेका कारण कडाइका साथ नियन्त्रणका लागि नेतृत्वलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।
यो समाचार आजको नयाँ पत्रिकामा छ  ।


प्रतिक्रिया दिनुहोस