काठमाडौं : विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि ६ दशलमव ४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । २०१९ मा ७ दशमलव १ प्रतिशत रहने वृद्धिदर सन् ०२० मा ० दशमलव ७ प्रतिशतले घट्ने देखिएको हो ।
२०२१ मा भने ६ दशमलव ५ प्रतिशत हुने बैंकको अनुमान छ । विश्व बैंकले गत जुन महिनामा सार्वजनिक गरेको प्रक्षेपणमा सन् २०१९ मा ७ दशमलव १ प्रतिशत नै हुने जनाएको थियो ।
विश्व बैंकले यो वृद्धिदरलाई बलियो पनि भनेको छ । आज राजधानीमा सार्वजनिक गरिएको नेपाल विकास अपडेटमा सेवा र कृषि क्षेत्रको वृद्धिदर नै आर्थिक वृद्धिको बलियो आधार बनेको जनाएको छ ।
सेवा र कृषि क्षेत्रको योगदान बलियो हुँदा औद्योगिक क्षेत्रको वृद्धिदर भने थप कमजोर रहेको जनाएको छ । यस अवधिमा सेवा क्षेत्रको वृद्धि ५७ प्रतिशत र कृषिको योगदान थप २४ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ।
पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायातलगायतका सेवा क्षेत्रको योगदान धेरै रहेको प्रतिवेदनमा भनिएको छ । सन् २०१९ मा ४ दशमलव ५ प्रतिशत मूल्यवृद्धि रहने भए पनि सन् २०२० र सन् २०२१ मा केही बढेर ५ प्रतिशत पुग्ने पनि अनुमान गरेको छ ।
विश्ब बैंकले वित्तीय संघीयता कार्यान्वनसँगै चुनौती थपिएको पनि जनाएको छ । गत वर्षमा प्रदेशहरूको पुँजीगत खर्च करिब ५० प्रतिशत मात्रै रहेको र विनियोजित बजेट खर्च गर्न नसक्नु ठूलो कमजोरी एवं चुनौती भएको जनाएको छ । नीतिगत परिवर्तनसँगै राजस्वको आधार अझै बढ्न सक्ने पनि विश्व बैंकले जनाएको छ ।
रिपोर्ट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रका चुनौतीका विषयमा विश्व बैंकले सही विश्लेषण गरेको बताए । उनले बैंकको आर्थिक वृद्धिदरको प्रक्षेपण बढाउने गरी सरकारले काम गर्ने दाबी गरे । विश्व बैंकले यसअघि गरेको अनुमान बढाउनुपरेको थियो उनले भने, “अब पनि नेपालको आर्थिक वृद्धि बैंकको अनुमानभन्दा राम्रो हुने र विश्व बैंकले प्रक्षेपण परिमाजर्न गर्नेछ ।”
उनले नेपाल सरकारले अहिलेसम्म आर्थिक वृद्धिको लक्ष्य परिवर्तन नगरेको र परिवर्तनको समय पनि नआएको बताए । उनले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय परिदृश्यले पनि आर्थिक वृद्धिमा असर पार्ने बताए ।