कात्तिक १०, २०७६ इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले आ–आफ्नो खेलमा जित निकालेका छन्। प्रिमियर लिगमा सिटीले एस्टन भिल्लालाई ३–० ले पराजित गर्दा अर्को खेलमा चेल्सीले बर्नलीलाई ४–२ ले हरायो। लिभरपुलसँग अंक दुरी घटाउने क्रममा सिटीले सबै तीन गोल दोस्रो हाफमा संभव बनायो। पहिलो हाफमा एस्टन भिल्लाले कडा चुनौती दिएपनि दोस्रो हाफमा भने सिटीलाई रोक्न असफल भयो। सिटीको जितमा रहिम स्ट्रलिङ, गुन्डोगान र फर्नान्डिनोले गोल गरेका थिए। सिटी जितसँगै अंक तालिकामा १० खेलबाट २२ अंक जोड्न सफल भएको छ। एक खेल कम खेलेको लिभरपुलको २५ अंक रहेको छ। बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे। यस्तै विलियमले एक गोल थपे। घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त रहेन्। खेलको २१ औं मिनेटमा पुलिसिचले टिमका लागि पहिलो गोल गरेका थिए। ४५ औं पुलिसिचले ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे। ५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दा खेलमा चेल्सीले स्पष्ट रुपमा ३–० को अग्रता बनायो। चेल्सीले अग्रता फराकिलो बनाउने क्रममा ५८ औं मिनेटमा विलियनले गोल गरेका थिए। ४ गोल गरेपछि उत्साही बनेको चेल्सी विरुद्ध ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीको गोल अन्तर कम गरेका थिए। ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि टिमको हार टार्नका लागि भने पर्याप्त भएन्। जितसँगै चेल्सी लिग अंक तालिकामा चौंथो स्थानमा उक्लिएको छ।