आज :

ताजा समाचार

ज्याला माग्दा सार्की भन्दै जनप्रतिनिधिले कुटे मजदुर

  पुरुषोत्तम ढकाल    ४ कार्तिक २०७६, सोमबार १६:१८      629 Views

कात्तिक ४, २०७६ पाल्पा : पाल्पामा जनप्रतिनिधिले एक मजदुरलाई कुटपिट गरेका छन्। तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गरेका हुन्। उनले आइतबार बिहान नेपालीलाई कुटेका थिए। नेपालीको दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको पनि छ। अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ। वडा सदस्य विष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाबसहित आफूले पाउनुपर्ने रकम माग्दा आफूलाई कुटपिट गरेको पीडित नेपालीले बताए। उनले आफूलाई मुक्का र लात्तीले हानेको आरोप लगाए। गत माघ महिनामा १२ हजारमा घरको गारोमा प्लाष्टर गर्नका लागि विष्ट र नेपालीबीच सम्झौता भएको थियो। नेपालीले समयमै काम सम्पन्न गरेका थिए। तर, ज्यालाको रकम भने आफूले अहिलेसम्म नपाएको उनले गुनासो गरे। आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जानेक्रममा नेपाली र विष्टबीच बाटोमा भेट भएको थियो। ‘उहाँले कता हिँड्नुभयो भनेर मलाई सोध्नुभयो। मैले तपाईंको घरमा कामको हिसाब गर्न हिँडेको भनेर जवाफ दिएँ,’ ‘नेपालीले भने उहाँले एक्कासि तँ सार्की डांग्रा, के को हिसाब, मलाई चिनेको छस्, म को हो, भन्दै मलाई मुक्काले र लात्तीले हान्न थाल्नुभयो। त्यसपछि प्रहरीलाई भनम भन्दै उल्टै धम्कीसमेत दिनुभयो।’   आफूलाई तल्लो जाति सार्की भन्दै कुटपीट गरेको आरोपसहित नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिएका छन्।  वडा सदस्यले स्वीकारे कुटेको थाहाखबर पाल्पाका समाचारदाता सँगको प्रतिक्रियामा आफूले कुटेको वडा सदस्य विष्टले स्वीकार गरेका छन्। ‘नेपालीले मलाई पहिला हात हाल्नुभयो’ उनले भने, ‘अनि मैले त्यसको प्रतिकार गर्दै हानेको हुँ। रिसको झोंकमा सार्की ड्याङ्रा भन्दै ४/५ थप्पड गालामा हानेको हुँ’ उनले थप स्वीकारे। उनी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। पीडित नेपालीले आफू कुटिएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए। उनले भने पीडक भनिएका विष्टलाई कार्यालयमा ल्याएर घट्नाबारे सत्यतथ्य अनुसन्धान गर्नेछौं। दोषीउपर कानुनबमोजिम कारबाही हुनेछ।


प्रतिक्रिया दिनुहोस