आज :

ताजा समाचार

ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप इन्जिनियरिङ्ग कलेजको संयुक्त आयोजनामा प्राध्यापक–कर्मचारी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम

  पुरुषोत्तम ढकाल    १६ आश्विन २०७६, बिहीबार ०८:३८      1741 Views

भक्तपुर, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बुधबार धुलिखेलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथि बिजुक्छेंले पार्टीको सातौ‌‌‌‌ महाधिवेशनमा सहयोग गर्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्राध्यापक–कर्मचारीहरूबाट देश र जनताको हितमा अध्ययन र अनुसन्धानमार्फत नयाँ–नयाँ कुराहरू पत्ता लगाउन र जनतामा ज्ञान बाँड्न आग्रह गर्नुभयो । उहाँले शारीरिक र बौद्धिक श्रम गर्ने कामदार जनतालाई वर्गीय र राजनैतिक चेतना दिएर जनताकै बलमा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने पार्टीको लक्ष्य महाधिवेशनले पारित गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले शोषणमा आधारित वर्तमान पुँजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने चर्चा गर्दै भन्नुभयो, “साम्यवादी व्यवस्था वर्गविहीन, शोषणरहित र राज्यविहीन हुन्छ । मजदुर र किसानबीच तथा गाउ“ र सहरबीच भेद् हट्छ । हरेक नगारिकले योग्यताअनुसार काम र आवश्यकताअनुसार पारिश्रमिक पाउँछ ।”
साम्यवादी समाज सपनामात्र नभई सपनालाई यथार्थतामा कार्यान्वयन गर्न नेमकिपा प्रतिबद्ध रहेको प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले जनताका समस्या समाधानको उपाय, समाजवाद एवम् साम्यवादी व्यवस्थाका विशेषता र नेपाली समाजमा यसको आवश्यकताबारे जनतासम्म पुर्‍याउन प्राज्ञिक छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा इमान्दारीपूर्वक अध्यापन गरी योग्य शैक्षिक जनशक्ति उत्पादनमा रात–दिन लाग्नुहुने सबै प्राध्यापक–कर्मचारीहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले शासक दलहरूको गैरराजनैतिक दृष्टिकोण एवम् आपराधिक क्रियाकलापले गर्दा भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा बेथिति र भ्रष्टाचार बढेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेमकिपाले शिक्षामार्फत नयाँ पुस्तालाई देश र जनताप्रति उत्तरदायी बनाउन अगाडि बढिरहँदा शासक दलहरू ख्वप विश्वविद्यालय स्थापनामा आलताल गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सासद सुरेन्द्रराज गोसाईले भारतीय विस्तारवाद एवम् एकाधिकार पुँजीको नेपालमा हस्तक्षेप बढिरहेको हुँदा बौद्धिक वर्ग एवम् जनताले भारतीय विस्तारवादविरूद्ध आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का सांसद सिर्जना सै‌ंजूले निःस्वार्थरूपले देश र जनताको सेवा गर्नु नै राजनीतिको एकमात्र उद्देश्य हुनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले शिक्षा–स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा विशेष ध्यान दिई काम गरिरहेको बताउनुभयो ।
कलेज सञ्चालक समितिका सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यका काम भइरहेको छ भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप इन्जिनियरिङ कलेका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस