आज :

ताजा समाचार

तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशतले बढ्यो

  पुरुषोत्तम ढकाल    ११ आश्विन २०७६, शनिबार ०८:०७      405 Views

काठमाडौं– चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएको कान्तिपुर दैनिकले खबर छापेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २ सय ८९ प्रतिशतले बढेर होलसेलमै १ सय ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ । बोडी ९तने० को २ सय २७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । मकै बोडीको मूल्य १ सय ५८ प्रतिशतले बढेर ९८ रुपैयाँ, घिउ सिमीमा १ सय ३८ प्रतिशत बढेर ९५ रुपैयाँ, तीते करेला १ सय ५८ प्रतिशतले बढेर ८५ रुपैयाँ पुगेको छ । हरियो प्याजको मूल्य १ सय ९ प्रतिशतले बढेर १ सय १५ रुपैयाँ, रायोको मूल्य १ सय ६४ प्रतिशत बढेर १ सय ४५ रुपैयाँ, लौका १ सय ७ प्रतिशत बढेर ५८ रुपैयाँ पुगेको छ । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा पनि मनपरी मूल्यमा बिक्री भइरहेको छ । होलसेल र खुद्रामा प्रतिकिलो ५०र६० रुपैयाँ फरकमा बिक्री भइरहेको छ । जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरूले अनुगमनमा चासो दिएका छैनन् । कालीमाटी तरकारी बजारको नियमन गर्ने मुख्य दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । मूल्यको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्नुपर्छ । अनुगमन मौसमी हुँदा वर्षाको कारण देखाउँदै बिचौलियाले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘किसानबाट उपभोक्तासम्म आइपुग्दा ५ तहमा मूल्य तोकिन्छ । यी विषयमा कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव दुवै जानकार छन्,’ उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले भने, ‘मन्त्रीहरू बिचौलियासँग मिले । उनीहरूसँग मिल्दा किसान र उपभोक्तालाई मार पर्‍यो । ’बानियाँले बजार मूल्य बिचौलियाकै कारण बढेको दाबी गरे । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले पनि चाडबाड लाग्नेबित्तिकै व्यापारीले मूल्य बढाउने गरेको बताए । ‘वर्षाले केही असर गरे पनि केही व्यापारीले चलखेल गरे,’ उनले भने, ‘मूल्य बढ्नुको अन्य मुख्य कारण केही छैन ।’


प्रतिक्रिया दिनुहोस