भदौ २५, २०७६ भक्तपुर : भक्तपुरमा डेंगु संक्रमितको संख्या ४९ पुगेको छ। जिल्लाका चार नगरपालिस्थानीय तहमध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा डेंगु संक्रमण देखा परेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए। भक्तपुर नगरभित्र ३६ जनामा डेंगु संक्रमण देखा परेको उनले बताए। डेंगु नियन्त्रणका लागि नगरपालिकाले डेंगु नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने कार्यहरु गर्दै आएको र घरदैलो नर्सिङ सेवामार्फत् डेंगुबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख प्रजापतिले जानकारी दिए। डेंगुको त्रासले गर्दा नागरिकहरु सामान्य ज्वरो आउँदा पनि अस्पतालमा उपचारका निम्ति जाने गरेको बताउँदैं उनले जलवायु परिवर्तनका कारण जोसुकै पनि डेंगुबाट प्रभावित हुन सक्नेतर्फ सर्वसाधारणलाई सचेत पार्न र डेंगु रोगको त्रास हटाउन सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।