आज :

ताजा समाचार

त्रिविको परीक्षामा उतीर्ण हुनको लागि पढाई होईन पैसा चाहिन्छ

  पुरुषोत्तम ढकाल    २७ असार २०७६, शुक्रबार ०८:०४      590 Views

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्य्विरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ । कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थपाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्तासमेत हुन् । परीक्षाको परिणाममा फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ । कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् । स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो । ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले अरू परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई सन् २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
यो पनि हेर्नुहोस्, अबको एक महिनापछि सातवटा विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदैछन् । पदाधिकारी बन्न नेताको घरदेखि पार्टी कार्यालयसम्म कतिपयको दौडधूप सुरु भइसकेको छ । विगतमा दलीय भागबण्डाका आधारमा पदाधिकारी बनाइँदा विश्वविद्यालय यतिबेला बेथितिका महल बनेका छन् । विश्वविद्यालयले गुमाउँदै गरेको साख र धमिलो बन्दै गएको छविलाई लिएर यतिबेला सबैको चासो एवं चिन्ताको विषय बन्न पुगेको छ । अब पनि पदाधिकारी नियुक्तिमा गम्भीर बन्न सकिएन भने इतिहासले यो भूललाई कहिल्यै क्षमा प्रदान गर्न नसक्ने टिप्पणी शैक्षिक वृत्तमा गरिन थालिएको छ । राष्ट्रिय योजना आयोगको शिक्षा हेर्नुहुने सदस्य डा। उषा झाले राजनीतिक दल र नेताप्रति प्रतिबद्ध हुने विश्वविद्यालयका पदाधिकारी अब हामीलाई चाहिएको छैन भन्दै थपे, ‘विगत दुई दसकदेखि गलत संस्कार हामीले बोक्यौँ । यसले गर्दा विश्वविद्यालयमा विकृति झाँगिँदै गयो, राम्रा विद्यार्थी गुमाउँदै गयौँ । अब यो बेथितिलाई यहीँ पुर्णविराम लगाउनु पर्दछ ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी भदौबाट पदाधिकारी रिक्त हुँदैछन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस