२०७६, असार २८ ।
बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिने खतरा बढेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन् ।
गतवर्षदेखि नै उक्त ठाउँमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको थिएन । वर्षातमा नदीमा पानीको बहाव बढ्ने भएपछि द्वावारीमा रहेको नदी थुनिने खतरापछि स्थानीयबासी त्रसित बनेका छन् ।
लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीच भागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताएका छन् । नदी थुनिने जोखिम बढेपछि स्थानीयलाई समेत सचेत गराइएको रावलले बताए ।
गत वर्षदेखि नदी बुढीगंगा नगरपालिका तिरको छेउतिर बगिरहेको छ । नदी एक छेउबाट बग्न थालेपछि यता बुढीगंगा नगरपालिका–१ अम्कोटको तल्लो भागबाट पहिरो जान सुरु भएको स्थानीय नविन थापाले बताए । लगातार पहिरो जान थालेपछि त्रिबेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । गाउँको छेउबाटै रातभर गड्याङ गुडुङ आवाज आउँछ । निन्द्रै लाग्दैन’,स्थानीय भानुभक्त पाध्यायले भने,’ यहाँ जतिबेला जे पनि हुन सक्छ ।’
यो समाचार आजको राजधानी दैनिकमा छ ।