कैलाली । कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो ।
हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताउनुभयो ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा पनि हावाहुरीका कारण २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमूख एसपी दिनेश कुमार आचार्यले बताउनुभयो । रेडियो महाकालीका अनुसार हावाहुरीले विद्युतको पोल ढलेका छन् भने अधिकांश घरको छाना उडाएको छ । हावाहुरीले टिनको छाना भएको घरमा धेरै क्षति भएको प्रहरीले जनाएको छ ।
क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अहिले हावाहुरी रोकिएको छ । हिजो साँझदेखि अवरुद्ध विद्युत आज विहानबाट सुचारु भएको छ ।
हावाहुरीबारे पत्तै पाएन मौसम पूर्वानुमान महाशाखाले
हावाहुरीले कैलाली र कञ्चनपुरमा जनधनको क्षति भएपछि मात्रै मौसम पूर्वानुमान महाशाखाले मौसमी अवस्थाबारे थाहा पायो । हावाहुरीको सम्भावनाबारे जानकारी लिन विहानै मौसम पूर्वानुमान महाशाखामा फोन गर्दा ड्युटीमा रहेका मौसमविद्ले कैलाली कञ्चनपुरमा ठुलै हावाहुरी आयो र ? भनेर प्रश्न गरे । दुईजनाको मृत्यु भएको जवाफ पाएपछि उनले मौसमी अवस्था बारे यसै भन्न नसकिने बताए ।
‘हामीले पहिलै अनुमान गर्न सक्दैनौं । बादलको विकसित रुप हरेर अनुमान गर्ने हो’ । हिजोसम्म वर्षात्को हुने देखिए पनि हावाहुरीको संकेत नभएको मौसम् पूर्वानुमान महाशाखाले जनाएको छ ।
बारा र पर्सामा हावाहुरीका कारण ३० जनाको मृत्यु भएपछि मौसम पूर्वानुमान महाशाखा सजग बनेको थियो । माहाशाखाले हावाहुरीको सम्भावना बारे जानकारी गराउँदै सचेत रहन अपिल गथ्र्यो । तर हिजो कैलाली र कञ्चनपुरमा हावाहुरीको सम्भावना बारे कुनै अनुमान भएन र सर्बसाधनरणलाई सचेत रहन अपिल पनि गरिएन ।
. साझा खबर CIN बाट