प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ-आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए ।
प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उनले भने , “मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।”
नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोंच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे । सांगठनिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै उनले भने, “संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।”
राष्ट्र र नागरिकप्रति सदैव उत्तरदायी रहने प्रहरी कर्मचारीको बोली, वचन, व्यवहार पनि नागरिकमैत्री र असल हुनुपर्ने चर्चा गर्दै उनले हरेक व्यावसायिक काम इमानदारिताकासाथ ढुक्क भएर गर्न निर्देशन दिए ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाकासाथ प्रहरी महानिरीक्षकले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।(seto pati)